काठमाडौं । राजनीतिक चलखेल बढेको, सरकारको स्थायित्व खतरामा परेको भनिँदै गरेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीमा भने झन धेरै आत्मविश्वाश देखिन थालेको छ । नेकपाको शीर्ष तहमा मतभेद बढेको तथा विभिन्न नेताहरुको गोप्य भेटघाट बाक्लिएको देखिँदै गरेको बेला प्रधानमन्त्री ओलीको भनाइ छ– ‘दशैंसम्ममा सरकार विरुद्धको आलोचना समाप्त हुनेछ ।’

शनिबार राजधानीमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको गोष्ठीमा प्रधानमन्त्री ओलीले सरकारले गरेका कामका बारेमा अत्यन्तै आत्मविश्वाशपूर्ण र आकर्षक अभिव्यक्ति दिए । उनले भने– ‘सात दशमलव एक प्रतिशत आर्थिक वृद्धि भएको छ । यो नेपालको इतिहासमा कहिल्यै भएको थिएन ।’

एक वर्ष अघि काम थाल्दा प्रदेशहरुको मन्त्रिपरिषद् वैठक बस्ने ठाउँ समेत नभएको स्मरण गर्दै प्रधानमन्त्रीले एक वर्ष कानून बनाउने र यस्तैयस्तै काममा लाग्न परेकाले ‘सात दशमलव एक प्रतिशत मात्र आर्थिक वृद्धि भएको’ बताए ।

उनले ‘मात्र’ शब्दमा निकै जोड लगाएको सुनिन्थ्यो । यसको अर्थ हो– एक वर्ष आधार बनाउने काममा खर्च गर्न नपरेको भए अझ धेरै आर्थिक वृद्धि हुने थियो ।

उनको अर्काे आत्मविश्वाशपूर्ण अभिव्यक्ति यस्तो थियो– ‘काठमाडौंको सडक एक वर्ष पहिले र अहिलेको हेर्नुस्, निष्पक्ष ढंगले हेर्नुस् र भन्नुस् । एक वर्ष अगाडि मैले भनेको थिएँ अब एक वर्षमा काठमाडौंमा मास्क लगाएर हिँड्न पर्दैन । म प्रधानमन्त्री भएको बेला आधा जनसंख्या मास्क लगाएर हिँड्थ्यो । अहिले मास्क लगाएर कोही पनि हिँड्दैन ।’

प्रधानमन्त्रीको अर्काे अभिव्यक्ति थियो– ‘एक हजार किलोमिटरभन्दा बढी बाटो स्तरोन्नति भएको छ, कालोपत्रे भएको छ । तैपनि आलोचना भएको छ । हामीले जनतालाई बताउनै पाएका छैनौं । हामी काम गर्दागर्दै व्यस्त भयौं । साउन र भदौ दुई महिना हेर्नुस्, दशैंसम्म पुग्दा सरकारमाथिको आलोचना समाप्त भएको हुनेछ ।’
    
प्रधानमन्त्रीले भने– ‘यो वर्ष आधार वर्ष हो । हामीले आधार तयार गरेका छौं । हाम्रो काँधमा के अभिभारा छ बुझेका छौं, चुनौती बुझेका छौं ।’

हामीले नयाँनयाँ अभियान चलाएका छौं । मानिसले कल्पनै नगरेका काम गरेका छौं । सय दिनको रोजगारी दिएका छौं । ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य वीमाको कसैले कल्पना गरेको थियो ? 

‘चार सय वटा झोलुंगे पूल यही वर्ष बनेको छ । इतिहासमा कहीँ कहिल्यै यही रफ्तारमा निर्माण कार्य हुन्थ्यो भने नेपाल कहाँबाट कहाँ पुगिसक्थ्यो’– प्रधानमन्त्री ओलीले दावी साथ भने ।

‘मेरो भनाइ पत्याइदिनुस् भन्दिन,’ उनले भने, ‘काम कति भयो, कानून कति बने, केके फरक पर्यो, ती कुराहरु व्यवहारमा हेर्नुस् ।’