पथरी,२० चैत्र । नेकपा (एमाले) को जारी मिसन ग्रासरुट २०७९ अन्तर्गत पथरी शनिश्चरे १० नम्बर वडा कमिटीले भिन्न प्रकारको रचनात्मक र जनसरोकारमुखी कामको रूपमा स्थानीय डाँस खोलाको घाट सरसफाइँ सम्पन्न गरेको छ ।
यहाँको व्यस्त दाहसंस्कारस्थलको रूपमा प्रयोगमा आएको यो घाट सरसफाइँ कार्यक्रमलाई आज बिहानैदेखि पाटीको जारी मिसनअन्तर्गत आरम्भ गरिएको सचिव सञ्जय राईले जनाउनुभएको छ । मिसनकै एउटा नयाँ श्रृङ्खलाको रूपमा सम्पन्न उक्त डाँस गंगा घाट सरसफाइँ अभियानप्रति समर्थन जनाउन वडाध्यक्ष जीवन खतिवडासँगै पार्टी प्रदेश कमिटी सदस्य भूपाल जिमी, जिल्ला सदस्य भगतचन्द्र थपलिया, सेवानिवृत्त शिक्षक कृष्णबहादुर कार्की, किशोर खड्कालगायत समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको समेत सहभागिता रहेको हरिकुमार सुवेदीले बताउनुभयो ।
सामुदायिक सरोकारको विषय नै हाम्रो सेवामूलक कामको क्षेत्र हो । सामुदायिक विद्यालय, मठमन्दिर, गुम्बा, मदरसा, चर्च आदिमा पनि ध्यान दिइरहेका छौं । यस्ता रचनात्मक कार्यक्रममार्फत सामाजिक जीवनका क्षेत्रमा राजनीतिक प्रभाव विस्तार भएकोप्रति खुशी व्यक्त गर्दै कमिटी अध्यक्ष पर्वत थापाले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
अभियानअन्तर्गत सम्पन्न यो घाट सफाइँ कार्यक्रम नितान्त नवीन प्रकृतिको भएकोले यसले दिने सन्देशले जनचासो, गुनासो र अपेक्षाका विषयलाई पार्टी निर्माणसँग जोड्दै लैजानुपर्ने रायसहित अभियानका लागि क्रियाशील प्रमुख अभियन्ता भूपाल जिमीले आफ्नो पार्टी नेकपा (एमाले) ले जनसरोकारका कैयौं विषयवस्तुलाई यसरी नै संगठित गर्दै समुदायमाझ अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि मिना योञ्जन तामाङ, दिलबहादुर कार्की, राष्ट्रिय युवा संघ नेपाल नगर अध्यक्ष उपेन्द्र मादेन लिम्बू, जालपा आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम पाख्रिन, कमला दाहाल, विद्यार्थी नेता अनुप थापा, मिलन गुरुङलगायत दर्जनौं युवा–विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो ।




















