विराटचोक,२४ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश कमिटीका इञ्चार्चाज राजेन्द्र गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दक्षिणपन्थी धारतिर भाषिएको आरोप लगाउनु भएको छ । शुक्रबार सुन्दरहरैँचाको खोर्सानेमा स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिदैं यस्तो कुरा बताउनु भएको हो ।
नेकपा एमाले सुन्दरहरैँचा नगर कमिटीको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका गौतमले कांग्रेसको पुच्छर भएर लागेका माधव नेपालको पार्टीबाट समाजवाद न आउने कुराको पनि ठोकुवा गर्नुभयो । नेता गौतमले सुन्दरहरैँचा नगरपालिका र ग्रामथान गाउँ पालिकामा एमाले बाट निर्वाचित जनप्रतिनिधिहरूलाई समाजवादको आधार र त्यसको निर्माण लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि नेकपा (एमाले) पोलिटव्युरो सदस्य तथा राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले पार्टीको राष्ट्रिय परिस्थिति र जनप्रतिनिधिहरूले खेल्नु पर्ने भूमिकाको बारेमा प्रशिक्षण दिनुभएको थियो । स्थानीय तह सञ्चालनको कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा समेत प्रशिक्षण दिइएको कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिव चिन्तन पाठकले जानकारी दिनु भयो । सचिव पाठकले प्रशिक्षणमा विषयवस्तुको प्रवेश गराउनुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधिहरूको तर्फबाट सुन्दरहरैँचा नगरपालिकाका प्रमुख एवं पार्टी प्रदेश कमिटीका सदस्य केदारप्रसाद गुरागाईं र ग्रामथान गाउँ पालिकाकी उपाध्यक्ष गुणावती देवी थारुले आफ्नो धारणा राख्नु भएको थियो ।
नेकपा एमाले सुन्दरहरैँचा नगर कमिटीका अध्यक्ष मातृकाप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख एवं पार्टी प्रदेश कमिटी सचिवालय सदस्य डिपीराई प्रदेश कमिटी सदस्य नवराज बिष्ट,पार्टी केन्द्रिय विभाग सदस्य बद्री अर्याल, जिल्ला कमिटीका नेताहरु लगायतको उपस्थिति रहेको थियो ।




















