विराटनगर,२८ चैत  । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  सम्पत्ति विवरण सार्वजनिक गरेका छन्  । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार  मुख्यमन्त्री कार्कीको तीन वटा घर छन् । 

मुख्यमन्त्री कार्कीले झापाको गौरादह नगरपालिका १ र ३ तथा ललितपुरको महालक्ष्मी नगरपालिका ४ मा घर रहेको उल्लेख गरेका हुन् । झापाका दुई वटा घर भने दाजु दीपक कार्कीसँग सगोलमा रहेको उल्लेख छ । ललितपुरको घर उनकी श्रीमती अञ्जना पाण्डे कार्कीको नाममा छ । 

सम्पति विवरणमा कार्कीले श्रीमती अञ्जना पाण्डे कार्कीको नाममा लिभरपुल एजुकेशन नेटवर्क प्रालीमा  २१ लाख ३८ हजार ७०० लगानी रहेको उल्लेख गरेका छन् । कार्कीको नाममा ड्रिमल्याण्ड हाउजिङमा १० लाख र शहीद मेमोरियल अस्पतालमा एक लाख ५० हजार लगानी गरेको उल्लेख छ ।  

कार्कीले  आफूसँग ६ तोला सुन र १० तोला चाँदी रहेको उल्लेख गरेका  छन् ।    २३ लाखमा सेन्ट्रो कार खरिद गरेको उल्लेख गरेका कार्कीले ललितपुरको महालक्ष्मी नगरपालिकामा १ करोड ४० लाखमा घर खरिद गर्दा एभरेष्ट बैंकबाट लिएको ९० लाख रुपैयाँ ऋण लिएको देखाएका छन् । सम्पत्ति विवरणमा चार वटा बैंकका खाता नम्बर लेखेका कार्कीले बैंकमा रहेको रकम भने उल्लेख गरेका छैनन् ।