काठमाडौं,११ बैशाख । बारा-२ को उपचुनावमा सुवर्ण गाउँपालिकाका ४ वटा मतसहितका बाकस सिल टुटेको अवस्थामा फेला परेका छन् ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराको सुवर्ण गाउँपालिकाका ४ वटा मत पेटिका सिल टुटेको अवस्थामा फेला परेको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएकाे छ । उहाँले आइतबार सम्पन्न बारा-२ को उपचुनावकाे मतगणनाको प्रत्यक्ष प्रसारण गर्न समेत माग गर्नुभएकाे छ ।
'बारा-२ को मतगणना स्थलको लाइभ हुनुपर्छ, सप्तरी-२ मा हामीले भोगिसकेका छौं, हार्न लागेपछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोशिस गरेका थिए, प्रहरी प्रमुखको मिलेमतो थियो नै, बारा-२ मा सुवर्ण गा.पा. का ४ वटा बाकसको सिल टुटेको भेटिएको छ'- अध्यक्ष राउतले लेख्नुभएकाे छ ।
अध्यक्ष राउतले आइतबार मतदानकाे दिन पनि जसपाले २-३ वटा बुथ कब्जा गरेकाे बताउनुभएकाे थियाे । प्रहरी प्रशासन पनि सत्ता गठबन्धनसँग मिलेमताेमा रहेकाे उहाँकाे भनाइ थियाे ।
नेकपा एमालेबाट बारा-२ का उम्मेदवार पुरुषाेत्तम पाैडेलले पनि मतदानमा धाँधली भइरहेकाे भन्दै निष्पक्ष चुनाव गराउन माग गर्नुभएकाे थियाे ।
बारा-२ मा एमालेबाट पाैडेल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, जनमतबाट शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार हुनुहुन्छ ।




















