काठमाडौ,१३ वैशाख । राष्ट्रिय युवा संघ नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यक्रमको सिलसिलामा झापाको बुधबारे जाने क्रममा भएको आक्रमण प्रयासको निन्दा गरेको छ । 

एमाले अध्यक्ष विरुद्ध अवाञ्छित नारा लगाएर अराजक एवं उत्श्रृङ्खल गतिविधि गरी आपराधिक तवरले ढुंगामुडा प्रहार लगायतका क्रियाकलाप गरिएको भन्दै राष्ट्रिय युवा संघ नेपालले भत्र्सना गरेको छ । ‘राष्ट्रियता, लोकतन्त्र, स्वतन्त्रता, सामाजिक न्याय र जनजीविकाको आन्दोलनमा आफ्नो सिङ्गो जीवन समर्पण गर्नुभएका समृद्ध नेपाल, सुखी नेपालीका नायक माथि अलोकतान्त्रिक तवरले हमला गरिनु नेपाली जनताको सपना माथिको गम्भीर प्रहार हो’, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले जारी गर्नुभएको विज्ञप्तिमा लेखिएको छ । 

यस्ता गतिविधिको नियन्त्रण गर्न र व्यक्तिको स्वतन्त्रता माथि निर्मम प्रहार गर्ने आपराधिक क्रियाकलापमा संलग्न आपराधिक झुण्डलाई यथाशीघ्र पक्राऊ गरी कानुनी कारबाही गर्न विज्ञप्तिमा माग गरिएको छ । जनताको मुर्छित भएका सपनालाई जागृत गर्ने र जागृत सपनालाई सफलीभूत पार्न अहोरात्र खटिरहनु भएका एमाले अध्यक्षमाथिको आक्रमणको निन्दा गर्दे यस किसिमको अराजक गतिविधिको राष्ट्रिय युवा संघ नेपालले सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ । यसको लागि तयारीमा रहन युवा संघले मातहतका कमिटीलाई निर्देशन दिएको छ । 

1ee85903-7e5f-4846-b916-9c62fb1a6830