काठमाडौं,१४ वैशाख । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले उद्योग, व्यवसायलगायत सबै निजी क्षेत्रको अनुगमन गर्ने बेग्लावेग्लै निकाय रहेकाले निजी क्षेत्रमा अख्तियार आउन आवश्यक नरहेको भन्दै अख्तियार विधेयकमा संशोधन प्रस्ताव गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धानआयोग ऐनलाई संशोधनगर्न बनेको (तेश्रो संशोधन) विधेयक २०७६ का सम्बन्धमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि सांसद शर्माले यस्तो संशोधन प्रस्ताव राखेका हुन् । प्रतिनिधि सभा नियमावली २०७९ को नियम ११३ मा उल्लेखित शर्तको अधिनमा रही नियम ११२ बमोजिम विधेयकमा संशोधनका लागि सांसद शर्माले संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

बैंकको अनुगमन गर्ने राष्ट्र बैंक तथा अन्य सबै क्षेत्रको अनुगमन गर्ने आ–आफ्नै निकाय भएको भन्दै उनले निजी क्षेत्रमा अख्तियार आउनु भनेको उल्टै घुसको चलखेल बढ्नु हो भन्ने विचार राखे । सांसद शर्माले अख्तियारमा उजुरी दिने व्यक्तिले आफ्नो परिचय खुल्ने कागजात पेश गर्नुपर्ने कानुन निर्माण गर्नुपर्ने माग पनि गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामी उजुरी दर्ता गरेर दुःख दिने गरेको गुनासो बढिरहेका बेला सांसद शर्माले उजुरी कर्ताको नाम खुलाउनुपर्नेसहित आठ वटा संशोधन प्रस्ताव पेश गरेका हुन् ।