विराटनगर,१५ वैशाख । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि पहिचानवादीहरुले गरेको आक्रमण प्रयासको बिरुद्दमा भोलि देशभर राके जुलुस गर्ने भएको छ ।
युवासंघका अध्यक्ष क्षितिज थेबेले शुक्रबार विराटनगर विमान स्थलमा पत्रकार भेटघाटको क्रममा देशका पाहाडी जिल्लाहरुका सदरमुकाम र तराइका जिल्लाका पालिकाहरु सम्ममा राके जुलुस तथा विरोधका कार्यक्रम गर्ने बताउनु भएको हो ।
‘राष्ट्रियता, लोकतन्त्र, स्वतन्त्रता, सामाजिक न्याय र जनजीविकाको आन्दोलनमा आफ्नो सिङ्गो जीवन समर्पण गर्नुभएका समृद्ध नेपाल, सुखी नेपालीका नायक माथि अलोकतान्त्रिक तवरले हमला गरिनु नेपाली जनताको सपना माथिको गम्भीर प्रहार भएको कुरा अध्यक्ष थेबेले व्यक्त गर्नु भयो ।
यस्ता गतिविधिको नियन्त्रण गर्न र व्यक्तिको स्वतन्त्रता माथि निर्मम प्रहार गर्ने आपराधिक क्रियाकलापमा संलग्न आपराधिक झुण्डलाई यथाशीघ्र पक्राऊ गरी कानुनी कारबाही गर्न माग गर्नु भएको छ । जनताको मुर्छित भएका सपनालाई जागृत गर्ने र जागृत सपनालाई सफलीभूत पार्न अहोरात्र खटिरहनु भएका एमाले अध्यक्षमाथिको आक्रमणको निन्दा गर्दे यस किसिमको अराजक गतिविधिको राष्ट्रिय युवा संघ नेपालले सशक्त प्रतिवाद गर्ने चेतावनी दिनु भयो । यसको लागि तयारीमा रहन युवा संघले मातहतका कमिटीलाई निर्देशन दिनु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यक्रमको सिलसिलामा गत बुधबार झापाको बुधबारे जाने क्रममा पहिचानवादीहरुले आक्रमण प्रयास गरेका थिए ।
अध्यक्ष थेवेले तत्कालीन नेकपा (माओवादी) का अयोग्य लडाकुलाई रकम वितरण गर्ने गरी वर्तमान सरकारले निर्देशिका पारित गरेको निर्णय तत्काल खारेज गर्न माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा आइतबार ज्ञापनपत्र समेत बुझाउने निर्देशन गरेको कुरा जानकारी गराउनु भयो ।
मुलुकको आर्थिक अवस्था नाजुक रहेको अवस्थामा शान्ति प्रक्रिया टुङ्ग्याउने नाममा अयोग्य लडाकुलाई वितरण गर्न रु एक अर्बभन्दा बढी रकम वितरण गर्ने तयारी गरेको अध्यक्ष थेवेले आरोप लगाउनु भयो ।




















