काठमाडौं,१६ वैशाख । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफूलाई वैकल्पिक शक्ति भन्नेहरूसँग कुनै विचार, दृष्टिकोण, मूल्य र मान्यता नभएको बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालको ३४ औ स्थापना दिवस तयारी भेलालाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै बस्नेतले उनीहरूले कुनै पनि विचारको प्रतिनिधित्व नगर्ने बताउनुभयो । त्यसैले उनीहरू जता पनि मिल्न सक्ने उहाँले प्रष्ट पार्नुभयो ।
उनीहरू संगठन, राज्य पद्धति कुनै पनि कुरामा विश्वास नगर्ने र व्यक्तिलाई जे लाग्यो त्यही सर्वोपरि हो भन्ने सोचका भएका बस्नेतले बताउनुभयो । ‘उनीहरू नवउदारवादका प्रवर्तकहरू हुन्, त्यस कारण उनीहरू वैकल्पिक शक्तिको रूपमा आउँछन् भन्ने मलाई लाग्दै लाग्दैन’, बस्नेतले भन्नुभयो ।
बस्नेतले नेकपा एमाले र राष्ट्रिय युवा संघलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा भने गम्भीर भएर लाग्नु पर्ने बताउनुभयो । १६ देखि २५ वर्षका युवा समूहको बिचमा राष्ट्रिय युवा संघ नपुग्दा एमाले माथि साइवर आक्रमण भएको उहाँको विश्लेषण छ । त्यसैले त्यो समूहमा राष्ट्रिय युवा संघ नेपाल पुग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
सामाजिक सुरक्षा, विकास, समृद्धि, शिक्षा, स्वास्थ्य रोजगारीमा संवैधानिक ग्यारेण्टीको कुरा नेकपा एमालेले गरेको कुरा समाजमा बुझाउन आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । देश विकासमा महत्पूर्ण योगदान कसैले गरेको छ भने त्यो नेकपा एमाले र केपी ओली नेतृत्वको सरकारले गरेको उहाँले दाबी गर्नुभयो ।
देशमा डा. गोविन्द केसी जस्ता शिक्षा विरोधी मानिसहरू रहेका कुरा नागरिकलाई बुझाउन आवश्यक रहेको उहाँले बताउनुभयो । नेपाललाई स्वास्थ्य शिक्षाको हबको रूपमा विकास गर्नुपर्छ भन्ने मुद्दा राष्ट्रिय युवा संघले बोक्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली माथि भएको आक्रमणको सशक्त प्रतिवाद र विरोध गर्न बस्नेतले राष्ट्रिय युवा संघ नेपाललाई निर्देशन दिनुभयो । ‘पहिचानवादीको नाममा प्रचण्ड र माधव नेपालका कार्यकर्ता मिलेर आक्रमण भएको छ, यो सबैको हिसाब किताब राष्ट्रिय युवा संघ नेपालले राखेको छ, पहिचानको मुद्दा प्रचण्डहरूले उठाएको मुद्दा हो, पहिचानको मुद्दा उपेन्द्र यादवहरूले उठाएको मुद्दा हो, हामी एक राष्ट्रियताको पक्षमा छौँ, बहुराष्ट्रियताको पक्षमा छैनौँ, हामी साझा पहिचानलाई सम्मान गर्ने पक्षमा छौँ, राज्यको पहिचान भनेको जात मात्र होइन’, बस्नेतले भन्नुभयो ।
एक नं प्रदेशको नाम समग्र पहिचानको आधारमा कोसी राखिएको उहाँले बताउनुभयो । त्यसको विरोधमा बीजारोपण गर्ने काम प्रचण्ड र उपेन्द्र यादवले गरेको उहाँले प्रष्ट पार्नुभयो । राष्ट्रिय युवा संघ नेपाल सडकको बाघ भएकोले सडकका कुत्ताहरूलाई नछाड्ने उहाँले चेतावनी दिनुभयो ।
राष्ट्रिय युवा संघ नेपालले गोविन्द केसी जस्ता नौटङ्की र देश घातीलाई साथ नदिने तर महावीर पुन जस्ता देश भक्तलाई साथ दिने उहाँले बताउनुभयो । महावीर पुनले सुरु गर्नुभएको सामाजिक क्रान्तिको अभियानमा राष्ट्रिय युवा संघ नेपालको समर्थन रहेका उहाँ बताउनुभयो । पुनको आन्दोलन सफल र सशक्त होस् भन्ने उहाँले शुभकामना दिनुभयो ।
माओवादी अध्यक्ष प्रचण्डले लडाकुको नाममा दुई÷दुई लाख रुपैँया बाँड्न खोजेर राज्यको रकम स्वाहा पार्न खोजेको भन्दै उहाँले आलोचना गर्नुभयो । प्रचण्ड भ्रष्टाचारमा लिप्त भएकैले भ्रष्टाचारको मुद्दामा पाँच वर्षको हदम्याद राखेर विधेयक ल्याएको उहाँको भनाइ छ । यसको नेकपा एमाले र राष्ट्रिय युवा संघ नेपालले सशक्त प्रतिवाद गर्ने उहाँले चेतावनी दिनुभयो ।




















