​विराटचोक,२० वैशाख । अध्यक्षले सरुवा भएर आएका कर्मचारीलाई हाजिर गर्न नदिएपछि मोरङको कानेपोखरी गाउँपालिका एक महिनायता प्रमुख प्रशासकिय अधिकृत विहिन भएको छ ।  

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सरुवालाई नमान्ने भन्दै गाउँपालिका अध्यक्ष  राजमती इङ्नामले सरुवा भएर आएका अधिकृृतलाई हाजिर नगराएपछि प्रमुख प्रशासनिकय विहिन बनेको हो ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत १३ गते कानेपोखरीका प्रमुख  प्रशासकिय अधिकृत सन्तोष घिमिरेलाई कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरेर उनको स्थानमा मुख्यमन्त्री कार्यालय मातहत रहेका शाखा अधिकृत विष्णुकुमार थेगुवालाई पठाएको थियो ।

घिमिरेको सरुवा रोक्नका लागि पालिका अध्यक्षसहितको टोली सामान्य प्रशासन मन्त्रालय पुग्यो । सरुवा रोक्नका लागि भन्दै पुगेको टोलीले मन्त्रालयबाट सकारात्मक जवाफ नपाएपछि सरुवा भएर आएकालाई हाजिर नगराएको हो । 

चैत १३ गतेको निर्णय अनुसार थेगुवा चैत ३० गते हाजिर हुन् कानेपोखरी गाउँपालिका पुगेका थिए । 

उनलाई अध्यक्ष इङनामले  हाजिर गर्न नदिई फर्काइन् । बैशाख ३ गते अध्यक्ष इङ्नामले सामान्य प्रशासन मन्त्रालयलाई पूर्व जानकारी नदिई सरुवा गरेका कारण  हाजिर गर्न नसक्ने भन्दै पत्र पठाएकी थिइन् । आर्थिक वर्षको संवेदनशिल क्षणमा अधिकृतको सरुवा हुँदा विकाश खर्चको लक्ष्यमा असर गर्ने पत्रमा उल्लेख छ ।

‘तीन तहका सरकारबीचको समन्वय र सहकार्यको न्यूनतम मर्म र भावना अनुसार चल्नुपर्ने संघिय व्यवस्थामा स्थानीय सरकार प्रमुखलाई सूचित समेत नगराई मातहतका कर्मचारी सरुवा गर्नाले संघियताको विकासमा नकारात्मक असर पर्ने देखिन्छ’, अध्यक्षले मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘त्यहाँस्थीत संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कानेपोखरी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रूपमा काम गर्न सरुवा भई आउनु भएका विष्णुकुमार थेगुवालाई हाजिर गराउन असमर्थ रहेको व्यहोरा अवगत गरादउँछु ।’

सरुवाको निर्णय भएपछि प्रमुख प्रशासकिय अधिकृत घिमिरेले विदा बसेका थिए । सरुवा रोक्ने पालिका नेतृत्वको प्रयास सफल नभएपछि उनले बैशाख १३ गते पालिकामा पुगेर रमाना पत्र बुझेर खटाएको स्थानमा गए । उनको स्थानमा गएका थेगुवा पनि पालिकाले हाजिर नगराएपछि पुरानै स्थानमा फर्किए ।

अध्यक्षले  हाजिर नगराएपछि एक महिनायता गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृृतको रुपमा चलेको छ । गाउँपालिका उपाध्यक्ष भोला अधिकारीका अनुसार लेखा अधिकृत अजित भट्टराईलाई निमित्त जिम्मेवारी दिइएको छ । नयाँ प्रमुख  प्रशासकिय अधिकृत आउने टुङ्गो नभएको उनले बताए ।   अध्यक्ष इङ्नामले जानकारी नदिई सरुवा गरेपछि प्रमुख प्रशासकिय अधिकृतलाई हाजिर नगराएको बताइन् । सरुवा भइ आएका थुगुवालाई फर्काएको बताउँदै उनले पुनः फर्किएर नआउने बताइन् । ‘अस्ती हाजिर नगरी पठाएका कारण फर्किएर आउनु हुन्नहोला’, उनले भनिन् । बेतना दैनिकबाट