काठमाडौं,२२ वैशाख । गाडी र चालक काठमाडाैं पुग्दा रायमाझी फरार, सार्वजनिक बस र मालवाहक ट्रकमा प्रहरीकाे खानतलासी

नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेकाे प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव तथा सांसद टाेपबहादुर रायमाझी प्रहरीलाई चक्मा दिँदै फरार भएका छन् । बुधबार गृहजिल्ला अर्घाखाँचीबाट काठमाडाैं जान्छु भनेर हिँडेका उनलाई प्रहरीले अहिलेसम्म फेला पार्न सकेकाे छैन । 

सभामुख देवराज घिमिरेसँगै काठमाडाैं आउन बुधबार साँझकाे प्लेन टिकट काटेका रायमाझीले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि टिकट रद्द गरेका थिए । जहाजकाे टिकट रद्द गरेर सडकमार्ग भएर काठमाडाैं आउँदै गरेका उनी बाटाेबाटै फरार भएपछि प्रहरी रणभुल्ल परेकाे छ । 

रायमाझीले  प्रयोग गर्दै  आएको  प्रदेश–३–०१–०२२   च–०५८२  नम्बर गाडी बिहीबार दिउँसो  चितवनबाट मुग्लिन हुँदै काठमाडौं आएकाे छ । तर उनलाई पक्राउ गर्न पिछा गरिरहेकाे प्रहरीले गाडीमा चालकलाई मात्रै फेला पारेकाे थियाे । 

रायमाझीले बिहीबार बिहान काठमाडाैं प्रहरीलाई सम्पर्क गरी आफू गिरफ्तारी दिन काठमाडाैं आइरहेकाे सन्देश फाेनमा सुनाएका थिए । दिउँसाे २ बजेतिर काठमाडाैं पुग्ने जानकारी दिएका उनी अवेरसम्म पनि सम्पर्कविहीन भएपछि प्रहरीले खाेजी तीव्र पारेकाे छ । 

आफ्नाे गाडी छाेडेर सार्वजनिक बस वा मालवाहक ट्रक चढेर रायमाझी काठमाडाैं आएकाे आशंका गर्दै प्रहरीले बिहीबार सबै सार्वजनिक यातायात र मालवाहक ट्रकमा समेत खानतलासी गरेकाे थियाे । शिलापत्रबाट