काठमाडौं,२४ वैशाख । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले कुनै पनि अपराधमा संलग्न मानिसलाई कुनै पनि राजनीतिक रङ्ग दिएर उन्मुक्ति दिन नमिल्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल कास्कीले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बस्नेतले उनीहरूलाई उन्मुक्ति दिनुहुँदैन भन्ने माग एमालेलेको रहेको प्रष्ट पार्नुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आर्जु देउवा र पूर्व गृह मन्त्री बालकृष्ण खाँडकी पत्नी मञ्जु खाँडको पनि संलग्नता देखिएकोले उहाँ माथि पनि छानबिन गरिनु पर्ने उहाँले बताउनुभयो ।
राज्यको अनुसन्धान गर्ने निकाय नै पूर्वाग्रही भएर अनुसन्धान प्रक्रियामा लागेको उहाँले बताउनुभयो । आर्जु र मञ्जु संलग्न भएको अडियो आएकोले उहाँहरू माथि पनि छानबिन अगि बढाउन सरकारलाई आग्रह गर्नुभयो । राज्यका अनुसन्धान गर्ने निकायलाई छानबिन गर्न सहज होस् भनेर नै आफूहरूले सो अडियो सार्वजनिक गरिदिएको बस्नेतले प्रष्ट पार्नुभयो । उहाँहरूको संलग्नता छ नै भन्ने नभए पनि विषय उठेपछि शेरबहादुर देउवा, बालकृष्ण खाँडदेखि उहाँहरूका पत्नीहरू माथि पनि छानबिन हुनुपर्ने बताउनुभयो । ‘त्यसका आधारमा छानबिन गर्ने हिम्मत सरकारले राख्छ कि राख्दैन ? ’ उहाँले प्रश्न गर्नुभयो ।
बस्नेतले नक्कली लडाकु प्रकरणलाई पनि छानबिनको दायरामा ल्याउन पर्ने बताउनुभयो । नक्कली लडाकुको नाममा पैसा लिएको कुरा सार्वजनिक रूपमा नै आएको त्यस माथि पनि छानबिन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । यस बाहेक जग्गा प्रकरण, जहाज प्रकरण लगायत सबै खालका भ्रष्टाचारका घटनाको छानबिन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
टोपबहादुर रायमाझी त्यस्तो गम्भीर घटनामा संलग्न हुनुहुन्न भन्ने आफूहरूलाई लागेको उहाँले बताउनुभयो । आफूहरूलाई त्यस्तो लागेको भए पनि अनुसन्धान नै हुनुहुँदैन भन्ने पक्षमा आफूहरू नरहेको उहाँले बताउनुभयो । बालकृष्ण खाँडदेखि दीपेश पुनसम्म जस जसका नाम आएका छन् उनीहरू सबै माथि छानबिन हुनुपर्ने उहाँको भनाइ छ ।
राज्यले घटनामा स्वच्छ र निष्पक्ष छानबिन हुनु पर्ने उहाँले माग गर्नुभयो । केही व्यक्तिलाई सामाजिक सञ्जालमा उफारेर घटनालाई अन्तै नमोड्न उहाँले प्रधानमन्त्री र गृह मन्त्रीलाई आग्रह गर्नुभयो ।




















