काठमाडौं,२४ बैशाख  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा कोही व्यक्ति संलग्न भएको हुनसक्ने भए पनि त्यसमा एमाले पार्टीलाई नघसेट्न चेतावनी दिनुभएको छ । 

आइतबार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सो प्रकरणको निष्पक्ष छानबिन गर्न सरकारलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफूले भेटेर निस्किने बित्तिकै दबाब आयो, दबाब सहन्न भनेर दिएको अभिव्यक्तिको पनि उहाँले कडा आलोचन गर्नुभयो । ‘मलाई बोलाएर भेट्ने, विभिन्न विषयमा कुरा गर्ने, म निस्किएपछि कसैको दबाबमा पर्दिन म, म झुक्दिनँ, म पछि हट्दिनँ, म प्रखण्डजीलाई भन्न चाहन्छु–पछि हट्नुस् कसले भन्यो ? झुक्नु कसले भन्यो ? दबाबमा पर्नुस् कसले भन्यो ? कसले दबाब दियो ?’, उहाँले प्रश्न गर्नुभयो ।     

एमालेले संसद्मा लगातार उठाएको कुरा नसुन्न प्रचण्डले अहिले आएर कसैलाई छाड्दिन भनेर बेतुकका कुरा गरेको उहाँले बताउनुभयो । कुनै विषयमा कसैलाई समाउने र छाड्ने प्रचण्ड को हो ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।  ‘पुष्पकमल दाहालका खुसीको कुरा हो कसैलाई छाड्ने र नछाड्ने ? दोषी छ भने कानुनले छाड्दैन, को हो पुष्पकमल दाहाल छाड्दिनँ भन्ने ? के भन्या त्यो ?’, उहाँले प्रश्न गर्नुभयो ।