काठमाडौं,२४ वैशाख । प्रतिनिधि सभा सदस्य आर्जु राणा देउवाले भ्रष्टाचारको विषयमा संसद् र सांसद कति सिरियस छन् भन्ने ठुलो प्रश्न उठेको बताउनुभएको छ ।  

आफू बैठकमा नभएको दिन आफ्नो विषयमा नाम ईंगित गरेर अनेक प्रश्न उठाइएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै राणाले आजको बैठकमा पनि आफ्नो विषयमा कुरा उठेको प्रति आपत्ति जनाउनुभयो । 

उहाँले आफू महिला भएकै कारण अपमानित गर्ने काम भएको भन्दै दुःख व्यक्त गर्नुभयो । ‘एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको सह्यै हुँदैन रहेछ, पुरुषले भनेको ठाउँमा मात्रै नारी बस्नुपर्ने, पुरुषकै भाष्य बोल्नुपर्ने, नारी आफ्नो पब्लिक लाइफमा आयो भने पुरुषलाई असह्यै हुने, यो परिस्थिति बनेको छ’, उहाँले भन्नुभयो । 

यो नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा नै भएको उहाँले बताउनुभयो । त्यसैको विरोधमा नेपालको संविधान लेखिएको उहाँले प्रष्ट पार्नुभयो । ‘यसका लागि जसले जति क्रिटिसाइज गरे पनि, मैले केही बिराएको छैन, डराउँदिन’, राणाले भन्नुभयो । 

आफ्नो श्रीमान् शेरबहादुर देउवा ५/६ पटक प्रधानमन्त्री हुनुभएको भन्दै उहाँले आफ्नो सम्पत्ति छानबिन गर्न चुनौती दिनुभयो । ‘मेरो लगायत, हाम्रो सम्पत्ति विवरण नेपाल सरकारसँग सुरक्षित छ, म अनुरोध गर्न चाहन्छु, आजसम्म जति सांसद छौँ, सबैको सम्पत्ति विवरण प्रकाशित गरेर वेबसाइटमा राखियोस्, जनताले देखोस्, कसको बढ्यो, कति बढ्यो, स्रोत के हो’, उहाँले भन्नुभयो ।