काठमाडाैं,१२ जेठ । नेकपा (एमाले) को सांसद शोभा ज्ञवालीले नेपाली कांग्रेसले गठबन्धनको वैशाखी किन टेकेको भन्दै प्रश्न गर्नुभएको छ । आज प्रतिनिधिसभा बैठकमा उनले कांग्रेस बूढो भएर गठबन्धनको वैशाखी टेकेको हो भन्दै प्रश्न गर्नुभयो । ‘कांग्रेसले गठबन्धनको वैशाखी टेक्नैपर्ने भयो ? के बूढो भएर वैशाखी खोजेको हो ?,’ उहाँले प्रश्न गर्नुभयो । सांसद ज्ञवालीले सरकारको नीति तथा कार्यक्रमको समर्थन गरे मात्र बोल्न पाइने हो भन्दै प्रश्न गर्नुभयो ।
उहाँले प्रतिपक्षलाई गाली गरेर मात्र नपुग्ने बताउनुभयो । ‘केही सत्तापक्षको माननीयज्यूहरूले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई कटाक्ष गर्दै हुनुहुन्थ्यो । तर, लास्टमा बोल्दै गर्दा केही कुरा पनि समावेश हुन सकेन,’ उहाँले थप्नुभयो,‘के संसद्मा दोहोरी खेलेर अहिलेको व्यवस्था संस्थागत हुनसक्छ ? जनताको चाहना र सहिदहरूको सपना पूरा हुनसक्छ ?’ उहाँले सरकारले ल्याएको नीति कार्यक्रम कर्मकाण्डी मात्र भएको आरोप लगाउनुभयो ।




















