काठमाडाैं,१६ जेठ  । कोशी प्रदेश सरकारले प्रदेश नामकरणविरुद्ध आन्दोलनरत गरिएकाे पक्षलाई वार्तामा बोलाएको छ । 

काेशी प्रदेश सरकारका प्रवक्ता एवं उद्याेग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार विज्ञप्ति जारी गरी आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्नुभएकाे हाे ।

काेशी प्रदेश नामाकरणकाे विषयलाई लिएर केही समयदेखि भइरहेका असन्तुष्टि र विराेधका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएकाे प्रदेश सरकारले जनाएकाे छ । पूर्व घोषित विरोधका कार्यक्रम स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई प्रदेश सरकारले आग्रह गरेकाे छ ।

शान्तिपूर्ण ढंगबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुद‍ृढ र मजबुत बनाउँछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्ने विज्ञप्तिमा उल्लेख छ ।  'यही सन्दर्भमा नामकरणको बारेमा रहेका आफ्ना विमतिलाई शान्तिपूर्ण रूपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रम स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ'- विज्ञप्तिमा लेखिएकाे छ ।

०७९ फागुन १६ गते बसेकाे प्रदेश सभा बैठकबाट प्रदेश-१ को नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरू निरन्तर आन्दोलनमा छन् । प्रदेश सरकारले आन्दाेलन राेक्न पटक-पटक आग्रह गर्दै आएकाे थियाे । तर उनीहरुले आन्दाेलन नराेकेपछि सरकारले औपचारिक रुपमै वार्तामा बाेलाएकाे हाे ।