काठमाडौं,२२ जेठ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्थिर चरित्र देखाएकाे बताउनुभएकाे छ ।

साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले आफ्नाे स्वार्थका लागि गठबन्धन बनाउने र स्वार्थ पूरा भएपछि छाड्ने गर्नुभएकाे बताउनुभयाे ।

प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा, राप्रपा, जनमतलाई चाखेर फालेको उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'तपाइँलाई त मजा छ नि अहिले त चाखिचाखिमन एमाले चाखिहेर्नुभाे फ्यात्त फाल्नुभाे, रास्वपा चाखिहेर्नुभाे फ्यात्त फाल्नुभयाे, राप्रपा चाखिहेर्नुभाे फ्यात्त फाल्नुभयाे, जनमतलाई पनि यसाे चाखिहेर्नुभाे फ्यात्त फाल्नुभयाे, अर्काे चाखेर यस्साे सामेल गर्नुभएकाे छ अहिले, छानीछानी छ, सधैं यस्तै दिन आउँदैनन् है फेरि ।'