काठमाडौं, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई दवावमा राखेर ५ बर्ष नै प्रधानमन्त्री हुनका लागि समाजवादी मोर्चा बनाएको तथ्य खुलेको छ । प्रधानमन्त्री दाहालले आफू निकट नेताहरुसँग कांग्रेसलाई दवावमा राखेर आफै ५ बर्ष प्रधानमन्त्री बन्नका लागि मोर्चा बनाउनु परेको खुलासा गर्नुभएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले आफ्नो दलसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रबिक्रम चन्द नेतृत्वको पार्टी मिलाएर समाजवादी मोर्चा घोषणा गर्दै हुनुहुन्छ । मोर्चा घोषणा भएपछि दाहाल नेतृत्वमा ५४ जना प्रतिनिधिसभा सदस्य हुनेछन ।

अध्यक्ष कमरेड नै ५ बर्ष प्रधानमन्त्री रहिरहनका लागि मोर्चा गठन गर्नुपरेको जानकारी दिनुभएको छ, ३२ सिटले बार्गेनिङ पुगेन त्यसैले ५४ सिट पुगाएर बार्गेनिङ पावर बढाइएको हो,’ प्रधानमन्त्री निकट माओवादीका एक नेताले भने । सोही योजनाअनुसार आज बसेको चार दलको बैठकले सोमबार घोषणा हुने समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकता सहितको १५ बुँदे प्रतिबद्धता पनि तय गरेको छ ।

दलहरुले समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरुप हुने सहमति पनि गरेका छन । ‘मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने छन् । यस मोर्चाको निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरूप हुनेछ’ मोर्चाको सहमतिपत्रमा भनिएको छ ।

माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा नाममा सहकार्य गर्न लागेका हुन । जनता टाइम्स