काठमाडाैं,४ असार । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले यथास्थितिमा बजेट पास हुनै नदिइने बताउनुभएकाे छ ।

साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकाे विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पाण्डेले विभेदकारी बजेटलाई कुनै हालतमा समर्थन गर्न नसकिने बताउनुभयाे ।

उहाँले भन्नुभयाे - 'बजेट निर्माणमा सांसद्हरुकाे भूमिका केही भएन, उर्जा मन्त्रालयमा मैले लेखेकाे चिज केही पनि आएकाे छैन, धादिङ जिल्लाकाे कुनै याेजना परेकाे भए कसले बनाइदिएकाे हाे ? यस्ताे व्यवारिसे ढंगले बनेकाे याेजनालाई हामीले समर्थन गर्न मिल्छ ?'‍

आफूले पार्टी अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपाललाई बजेटमा समर्थन गर्न नसकिने र अन्याय सहेर बस्न नसक्ने जानकारी गराइसकेकाे सांसद् पाण्डेले बताउनुभयाे । उहाँले अध्यक्ष नेपाललाई आफूसहित पार्टीका कुनै सांसद्ले बजेटमा समर्थन नगर्ने चेतावनी समेत दिनुभयाे । 

'कम्युटर टाइप गर्नेले याेजना हाल्न सक्छ, तर निर्वाचित प्रतिनिधिले भनेकाे याेजना चाहिँ हुँदैन याे परिपार्टीलाई अन्त्य नगरेसम्म यस्ताे ढंगकाे बजेट समर्थन गर्न सकिँदैन, मैले मेराे दलकाे अध्यक्ष तथा संसदीय दलकाे नेतालाई भनेकाे छु, तपाइँ भाेट हाल्नुहुन्छ भने हाल्नुस्, मसहितकाे मेराे दलका अरु साथीहरुले भाेट हाल्नेवाला छैनन्, याे अन्यायलाई सहेर बस्न सकिँदैन'- सांसद् पाण्डेले भन्नुभयाे ।