विराटनगर, १४ असार । नेकपा एकीकृत समाजवादीका सचिव तथा कोशी प्रदेशका संसदीय दलका नेता राजेन्द्र राईले आफूले सपनामा पनि एमालेकै नेताका रूपमा भाषण गरेको देख्ने गरेको बताउनु भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै राईले यस्तो बताउनु भएको हो ।

एमालेले निरन्तर पेलेकाले पार्टी नै छोड्नु परेकाले एमाले नेतृत्वको सरकारलाई अहिले समर्थन गर्न भने नसकिने बताउनु भयो । ‘हाम्रो समर्थन त त्यति खोज्दैन पनि एमालेले । हामीलाई त विश्वासको मतको समर्थन होइन, घ्वाप्पै पार्टी मिलाउन मन लागेको छ । त्यो पार्टी हामीलाई छाड्न मन लागेकै थिएन । सपनामा पनि एमालेकै नाममा भाषण गरेको देखिन्छ। त्यही पार्टीकै झन्डा उठाएर उबेला ढुंगामुढा गरेको देखिन्छ । त्यो पार्टी छाड्न त हामीलाई मन नै थिएन। बरू बेहुलीले घर छाड्दा अहिले रूने चिच्याउने, चित्त दुखाउने गर्दैनन,’ राईले भन्नुभयो । पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका राईले एमालेले आफूहरूलाई निकालेर, खेदेर, पिना बनाएर, त्यसलाई पनि पेलेर तेल निकाल्न खोजेपछि निस्कनुको विकल्प नरहेको बताउनु भयो ।

‘अहिले पनि यो सरकार आइसकेपछि कानुनबमोजिम भएका हाम्रा नियुक्ति धमाधम हटाइए । अदालतले फिर्ता बोलायो । चार जना छौं, यसो लुसुलुसु लागेर हिँड्दा गमक्क परेर बाटो छेकुँलाजस्तो व्यवहार छ । यो त सांकेतिक कुरामात्रै गरेको हो,’ राईले भन्नुभयो, ‘तर, कहिलेकाहीँ भोट चाहिएका बेला भोटे माया हरर्र जागेर आउँछ– हामी त एउटै पार्टीबाट छुटेको र भोलि पनि मिल्ने हो । यस्तो खालको कुरा आउँछ ।’

अहिले पनि हिजोको गल्ती सच्याउने हो भने, पेल्न छाड्ने हो भने समर्थन होइन, पार्टी एकता नै गर्न चाहेको राईको भनाई छ । ‘हिजोको गल्ती सच्याउन तयार हुनुपर्यो । हामी एउटा होइन, दुइवटै हात उठाएर समर्थन गर्छौं। नामकरणका बेला, सभामुख उपसभामुख छनोटका बेला, नियुक्तिका खारेज गर्दा खोजिएन । अहिलेमात्रै खोज्न अहिलेचाहिँ मिल्दैन कि, यो तरिकालेचाहिँ विश्वासको मत दिन गाह्रो पर्छ कि मुख्यमन्त्रीज्यू ! ,’ राईले भन्नुभयो । उहाँले एउटै पार्टी बनाउँ, एउटै संसदीय दल बनाउँ, संसदीय दलको नेता तपाईं नै बन्नुहोस भन्नुभयो ।