काठमाडाैं,५ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले आरोप प्रत्यारोप चल्नु स्वाभाविक भएको बताएका छन् ।

जारी केन्द्रीय कार्य समितिको बैठक  एक दिनका लागि स्थगित गरेर सुनसरी पुगेका देउवाले नेपाली काँग्रेस सबैभन्दा ठुलो प्रजातान्त्रिक पार्टी भएकाले बैठकमा आरोप प्रत्यारोप हुनलाई स्वभाविकरुपमा लिनुपर्ने   बताए ।डेढ दर्जन केन्द्रीय सदस्यहरू सहित सुनसरी सदरमुकाम इनरुवामा नेपाली काँग्रेसको जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले केन्द्रीय समितिको बैठक लाइभ गरेर काँग्रेसले उत्कृष्ट काम गरेको दाबी गरे ।

ठुलो पार्टीमा सानातिना समस्या र विवाद आउँदैमा काँग्रेस बिग्रियो, सकियो भन्ने मानसिकता पाल्न नहुने देउवाले बताए । पार्टी भित्रको मतभेदलाई बैठकबाटै टुङ्ग्याएर पार्टी भित्र आन्तरिक एकता भने जरुरी रहेको उनले बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिँदै लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने देउवाको भनाई थियो । देउवाले बिपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवसरमा शनिबार  सुनसरीको इनरुवामा उनको पूणर्कदको सालिक अनावरण समेत गरे । इनरुवा ९ इनरुवा नगरपालिकाको रु १५ लाखको लागतमा सालिक निर्माण गरिएको सालिक निर्माण सम्पन्न भएको चार वर्षपछि अनावरण गरिएको हो ।