काठमाडाैं,३१ साउन । एमाले अध्यक्ष केपी ओलीले आफ्नो राजनीतिको रक्षाका लागि संसद् विघटन गरेको बताएका छन् । मंगलबार एमाले बागमती प्रदेशको प्रशिक्षण कार्यक्रममा उनले संसद् विघटन राजनीतिक, संवैधानिक र संसदीय कदम भएको जिकिर गरे ।
५ पुस ०७७ मा सरकार ढाल्ने र एमाले समाप्त पार्ने षड्यन्त्र चकनाचुर बनाउन संसद् विघटनको कदम चालेको र उक्त कदम राजनीतिक हिसाबले उपयुक्त रहेको पुष्टि भएको ओलीले दाबी गरे । ‘हामीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गर्यौँ । हामीले ठीक ठानेर गर्यौँ, ठीक थियो र गर्यौँ, नगरिनहुने थियो र गर्यौँ । बिल्कुलै समसामायिक कदम चाल्यौँ, होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो, ध्वस्त पार्ने षड्यन्त्र भइरहेको थियो,’ ओलीले भने, ‘हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार पारेका थिए, त्यो डोरी हामीले छिनालिदियौँ । पुस ५ गतेको कदम भनेको त्यही हो । हामीलाई झुन्ड्याएर मार्न डोरी बनाएका थिए, त्यो डोरी हामीले काटिदियौँ ।’
ओलीले संसद् विघटनको कदमले तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायतका नेताहरू आत्तिएको दाबी पनि गरे । ‘षड्यन्त्र छिनेपछि उनीहरू असाध्यै आत्तिए । उनीहरूले वर्षौँदेखि जे योजना बनाएका थिए, उनीहरूलाई त्यही डर थियो प्रतिनिधिसभा भंग गरेर अर्को बाटो लिने हो कि भनेर । प्रतिनिधिसभा पुनस्र्थापना भयो, तर भएर पनि केही पनि बिग्रेन । किनभने त्यतिवेला हामीमाथि हाम्रो संगठन ध्वस्त पार्ने, चकनाचुर पार्ने षड्यन्त्र थियो,’ ओलीले भने, ‘उनीहरूको हिसाबले प्रतिनिधिसभा भंगै गर्न नहुने काम थियो । किनभने हामीलाई समाप्त पार्ने योजना खत्तम हुन्थ्यो । हामीलाई नगरिनहुने काम थियो । त्यो राजनीतिक कदम थियो, संवैधानिक, संसदीय कदम थियो ।’
ओलीले प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई दक्षिणपन्थी स्वार्थ बोकेका ‘झोले’का रूपमा टिप्पणी गरे । ‘खास झोले भनेका चाहिँ वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदेको छ, तिनलाई भनिन्छ झोले । साइनबोर्ड वामपन्थी, स्वार्थको झोला बोकेको छ, दक्षिणपन्थी । त्यसकारण दक्षिणपन्थीका स्वार्थ बोकेका झोलेहरू । शब्द नराम्रो लाग्छ, राम्ररी मिलाएर बुझ्नु होला,’ ओलीले भने ।
प्रचण्ड र माधव नेपालले मिलेर कम्युनिस्ट आन्दोलन समाप्त पार्न दुईतिहाइको सरकार गिराउनेदेखि प्रतिक्रियावादीको डिजाइनअनुसार काम गरेको ओलीले आरोप थियो । ‘उनीहरूले सजिलैसँग कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न खोजेका थिए । विचरा माधव नेपाल । नाम त नलिए हुने हो । तर, यो आन्दोलन समाप्त पार्न उनी यति गिरे, अदालत गए, कहाँ गएनन्, के गरेनन् उनले ? र, दुईतिहाइको कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी दक्षिणपन्थी सरकार बनाए,’ ओलीले भने, ‘यो पार्टीको वरिष्ठ नेता हुँदाहुँदै पछाडिको सिटमा बसेर पछाडिकै ढोकाबाट घोसेमुन्टो लगाएर लुसुक्क गएर हाम्रो सरकार गिराउन भोट दिए । दक्षिणपन्थी सरकार बनाउन भोट दिए ।’




















