काठमाडौं,३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको अवरोध एमालेले नभई सरकार आफैले गरेको प्रष्ट पार्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग आज शीतल निवासमा भएको भेटबार्तामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका एमाले अध्यक्ष ओलीले यस्तो धारणा राख्नुभएको हो ।
‘संसदको अवरोध हामीले होइन, सरकार र सत्ता गठबन्धनले नै गरेको हो । सुन तस्करी जस्तो गम्भीर बिषयमा सरकार न्यायिक छानविनसमेत गर्न नमान्ने कुरा उचित होइन,’ राष्ट्रपतिको जिज्ञासामा ओलीको भनाई उधृत गर्दै स्रोतले जनताटाइम्स डटकमसँग भन्यो । ओलीले सरकार यसैगरी अघि बढे मुलुक निकै ठूलो समस्यामा पर्ने धारणासमेत राख्नुभएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारेमा छलफल भएको थियो । उहाँका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सृजना गरेर अघि बढ्न सुझाव पनि दिनुभएको थियो । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राख्नुभएको थियो ।




















