काठमाडौं,१ भदौ । नेकपा एमालेका  वरिष्ठ  उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो परिवारलाई जोडेर झुटो समाचार  प्रकाशन गरेको भन्दै आपत्ती जनाएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा भन्नेसँग आफ्नो परिवारलाई जोडेर सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशन गरिएको भन्दै आपत्ती जनाएका हुन् |

पोखरेलले आफ्नो फेसबुकबाट  शुक्रबार वक्तव्य जारी गर्दै पत्रकारिताको सामान्य मर्यादा पनि नराखी एक अनलाइन सञ्चारमध्यमले नियोजितरूपमा आफ्नो परिवारलाई जोडेर शतप्रतिशत झुटो समाचार प्रकाशन गरेको भन्दै कानूनी कारबाहीमा जाने चेतावनी समेत  दिएका छन् ।

पोखरेलले वक्तव्यमा भनेका छन्, ‘माओवादीको लगानी रहेको त्यस विवादित अनलाइनले सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशित गरेर मालिकको सेवा गरेको प्रष्टै छ । यो हाम्रो पार्टीलाई बदनाम गरी सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्च हो ।’

पोखरेलले आफ्नो परिवारको संलग्नता पुष्टि गर्न चुनौती दिँदै यस्ता कुराबाट भ्रमित नहुन आग्रह गरेका छन् । पोखरेलले यसबारेमा आजै कानूनी कारबाही अगाडि बढाउने बताएका छन् ।

  • शुक्रबार बिहान उनले लेखेको स्टाटस यस्तो छ ।

माओवादी नेताको लगानी रहेको नेपाल खबर नामक अनलाइनले पत्रकारिता पेशाको सामान्य मर्यादा पनि नराखी नियोजित रूपमा मेरो परिवारलाई जोडेर लेखेको शतप्रतिशत झुटो समाचारको म घोर निन्दा, भर्त्सना र खण्डन गर्न चाहन्छु । माओवादीका उपमहासचिवको लगानी रहेको र कतिपय लगानीकर्ताको लगानी समेत ठगी गरेको भनेर यसअघि नै विवादित त्यस अनलाइनले सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशित गरेर मालिकको सेवा गरेको प्रष्टै छ । यो हाम्रो पार्टीलाई बदनाम गरी सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्च हो । म चुनौतीका साथ भन्न चाहन्छु - मेरो परिवारको यस्ता कुनै कुरामा संलग्नता छैन । यस्ता कुराबाट भ्रमित नहुन म सबै शुभेच्छुक र पार्टी पंक्तिलाई आह्वान गर्दछु । यस सम्बन्धमा आज कानुनी कारबाही पनि अगाडि बढाउने सबैमा जानकारी गराउन चाहन्छु ।