काठमाडौं,४ भदौ । लामो समय सम्म सम्बन्ध टाढा भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले नेता भीम रावल एउटै सार्वजनिक कार्यक्रममा देखिएका छन् । करिब २० महिनापछि काठमाडौंको प्रज्ञा भवनमा आयोजित देउडा सांस्कृतिक उत्सवमा उनिहरु संगै एउटै समारोहमा देखिएका हुन् ।
०७८ मा चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा ओलीसँग रावल भिडेपछि उनीहरुबीच दूरी बढेको थियो । आफूसँग अध्यक्ष लडेपछि रुष्ट बनेका ओलीले रावललाई गत मंसिरमा भएको निर्वाचनमा टिकट नै दिएनन् ।
ओलीले आफूलाई टिकट नदिएपछि रावलले ओलीविरुद्ध चर्को आक्रोश पोखे । ओली र रावलबीच बढ्दो तिक्तत्ता अन्त्य गर्न गत चैतमा उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन भएको थियो । त्यही कार्यदलको प्रयासमा ओली र रावलबीच गत साता मात्रै लामो समयपछि भेट भएको थियो ।
भेटलाई सकारात्मक दिशमा अघि बढेपछि आज ओली र रावल सार्वजनिक कार्यक्रममा पनि सँगै देखिएका हुन् । कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, एमाले नेता लेखराज भट्टसहित सुदुरपश्चिमका नेताहरु पनि सहभागी थिए ।




















