काठमाडौं,७ साउन ।नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेकपा एमालेले आफूलाई युवाको पार्टी बनाउन लागेको बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई बुधबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै बस्नेतले नेकपा एमालेमा युवालाई आरक्षण सहित सहभागिता गराउने निर्णय भएको बताउनुभयो । वडादेखि प्रदेशसम्म पार्टीमा युवाको न्यूनतम सहभागिताको कुरा एमालेले ग्यारेन्टी गरेको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज समेत रहनुभएका बस्नेतले युवालाई पार्टी नेतृत्वमा जाने तयारीमा लाग्न आग्रह गर्नुभयो । पार्टीले आफूलाई युवामैत्री, महिला मैत्री बनाउने निर्णय गर्दा जनसंगठन पनि त्यो अभ्यासमा जानुपर्ने उहाँले प्रष्ट पार्नुभयो । राष्ट्रिय युवा संघ नेपाललाई नवयुवाको संगठन बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा एमाले केपी ओलीले परिकल्पना गर्नुभएको समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा बोकेर हिँड्ने पार्टी भएको उहाँले प्रष्ट पार्नुभयो । ‘नेकपा एमाले मुलुकको समृद्धिको बाहक हो, नेकपा एमाले मासान्तवादी सत्तालाई समाप्त पार्ने र त्यसलाई जरैसम्म उखेल्न सक्ने पार्टी हो’, उहाँले भन्नुभयो ।
राष्ट्रिय युवा संघ नेपाललाई अपडेट गर्नका निमित्त त्यसका हरेक कार्यकर्ता अपडेट हुनुपर्ने उहाँले बताउनुभयो । संगठनले एक घर दुई सदस्य र एक टोले एउटा कमिटी गठन गर्न उहाँले निर्देशन दिनुभयो । ‘नेकपा एमाले जात्रामा आउनेलाई सर्बत खुवाउने नयाँ पार्टी जस्तो पार्टी होइन, नेकपा एमाले संगठनमा विश्वास गर्ने पार्टी हो’, उहाँले भन्नुभयो ।
नेकपा एमालेलाई माइनस गरेर कसैले अघि बढ्ने सपना देखेको छ भने त्यो दिवास्वप्न मात्र हुने उहाँले बताउनुभयो । नेकपा एमालेले उठाएको सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग आज सम्बोधन भएको भन्दै उहाँले यसको प्रमाण त्यही भएको उहाँको भनाई छ ।
माओवादीका हरेक नेता तस्करीमा संलग्न भएको उहाँले दाबी गर्नुभयो । माओवादीले ज्वाइँ छान्दा पनि तस्करलाई छान्ने गरेका उहाँले बताउनुभयो । विदेशी तस्करलाई नेपाली नागरिकताको प्रमाणपत्र दिने काम समेत माओवादीका नेताहरूको निर्देशमा भएको उहाँको भनाइ छ । माओवादीका नेता एक एक गरी पतन हुँदै गएका उहाँले दाबी गर्नुभयो ।




















