कृषिमा विशिष्ट जनशक्ति उत्पादनका लागि सरकारकै लगानीमा स्थापना भएको कृषि तथा वनविज्ञान विश्वविद्यालयले मानविकीअन्तर्गतका कार्यक्रम चलाउँदै आएको छ ।

आफ्नै ऐनविपरीत विश्वविद्यालयको प्रस्तावनामा समेत नसमेटिएको संकायअन्तर्गतका विषयमा कृषिले पिएचडी ९विद्यावारिधि० कार्यक्रम सञ्चालन गरेको हो ।

यो विश्वविद्यालयमा मानविकीका विषयविज्ञसमेत छैनन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्।

कृषि विश्वविद्यालयमा झन्डै पाँच वर्षदेखि ‘डेभलपमेन्ट स्टडिज’मा पिएचडी कार्यक्रम सञ्चालनमा छ । तत्कालीन उपकुलपति प्रा. कैलाशनाथ प्याकुरेलले आफ्नो विषयअनुसारको कार्यक्रम सुरु गरेपछि अहिले विश्वविद्यालयबाट प्राप्त हुने ‘डिग्री’को समेत आलोचना हुन थालेको छ ।

वर्तमान उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालले पनि यो विषयमा विद्यार्थी भर्नालाई निरन्तरता दिएका छन् ।

‘हाम्रोमा विज्ञ नहुँदा डेभलपमेन्ट स्टडिजमा समस्या छ,’ उपकुलपति ढकाल स्विकार्छन्, ‘यसले गुणस्तरमा पनि प्रश्न उठ्छ । तर, झन्डै पाँच वर्षदेखि यस्तो कार्यक्रम सञ्चालनमा छ ।’ मानविकी, कृषि तथा वनविज्ञानसँग सम्बन्धित विषयमा ९२ विद्यार्थीले कृषि विश्वविद्यालयबाट पिएचडी गर्दै छन् ।

‘देशको मेरुदण्डका रूपमा रहेको कृषिक्षेत्रको सर्वांगीण विकास गर्न र कृषिको आधुनिकीकरण गर्दै ग्रामीण जनसमुदायको सामाजिक तथा आर्थिक स्तर उठाउन कृषि, वन, पशुविज्ञानजस्ता क्षेत्रसँग सम्बन्धित विषयको एकीकृत रूपले अध्ययन, अध्यापन र अनुसन्धान गराई मुलुकभित्रै उच्चस्तरको प्राज्ञिक तथा सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय स्थापना गरिएको हो,’ विश्वविद्यालयको प्रस्तावनामा उल्लेख छ ।

तर, उपकुलपति ढकाल विश्वविद्यालयको स्थापनाको उद्देश्य मानविकीका कार्यक्रम सञ्चालन गर्ने नभए पनि विश्वविद्यालयको दायरा फराकिलो बनाउने अभ्यास संसारभर भएकाले अन्य संकायका कार्यक्रमसमेत सञ्चालन गर्न खोजेको तर्क गर्छन् ।

ढकालले एमबिएका कार्यक्रमसमेत सञ्चालन गर्ने विषयमा छलफल गरेका थिए । एमबिएका लागि छुट्टै जिम्मेवारी दिएर काम सुरु भएको थियो । ‘तर, निजी स्रोतमा एमबिए चलाउन महँगो पर्ने देखिएकाले अहिले रोकिएको छ,’ उनले भने ।

ढकालले विज्ञ नभएकाले कार्यक्रम कम गर्दै जाने सोचेको बताए । उनले भने, ‘हाम्रो फोकस कृषिमै हुनुपर्छ । त्यतिवेला विषय समितिबाट फ्याकल्टी बोर्ड हुँदै कार्यकारीबाट प्रस्ताव गएर सभाले पास गरेको रहेछ ।’ मल्टी डिसिप्लिनरीमा जाँदा छिटो जनशक्ति विकास हुने उनले बताए ।