काठमाडौं, २८ असार । लगातारको वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३० जनाको ज्यान गएको छ । बाढी पहिरोमा परेर १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

स्थानीय प्रहरी कार्यालय र विपद् व्यवस्थापन महाशाखाबाट परिचालित टोली समेतको सक्रियतामा काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिरहामा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १–१ जना गरी १३३ जनाको उद्धार गरिएको छ ।
यस्तो छ जिल्लागत संख्या 
बाढी पहिरोमा परेर ललितपुरमा ५ जना, काठमाडौं, खोटाङ र काभ्रेमा ३–३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २–२ जना तथा ओखलढुङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा १–१ जना गरी ३० जनाको ज्यान गएको हो ।

यस्तै मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवनमा १–१ जना गरी १२ जना घाइते भएका छन् । बेपत्ता हुनेहरुमा सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाण्डौ, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १–१ जना गरी १८ जना छन् ।

बाढी पहिरोबाट जनधनको उद्धारका तथा अवरोध भएका सडक तथा बाटो खुलाउनका लागि प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरुसहित काठमाडौं उपत्यकामा आठ हजार ८५६ जना, प्रदेश नं १ मा ६ हजार ३०५ जना, प्रदेश नं २ मा पाँच हजार ७०२ जना, प्रदेश नं ३ मा तीन हजारर ४०५ जना, प्रदेश नं ६ मा तीन हजार ११२ गर २७ हजार ३८० प्रहरी कर्मचारीहरु परिचालित गरिएको थियो । 
‘राहत र उद्धार गर्न सरकार आफैं सक्षम छ’
सरकारले अविरल वर्षासँगैको बाढी र पहिरोमा परेका प्रभावितहरुका लागि स्थानीय सरकारमार्फत नै राहत वितरण गर्ने निर्णय गरेको छ ।

शनिबार सिंंहदरबारमा बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यसमितिको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिलाई परिचालन गरी प्रदेश सरकारसँगको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहबाटै सम्पूर्ण राहत वितरण गर्ने निर्णय गरेको हो ।

यस्तै संघ र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारकै सक्रियतामा राहत वितरण गरिने निर्णय भएको गृहसचिव प्रेम कुमार राईले जानकारी दिए । बैठकले अहिले तत्काल उपलब्ध ड्राइफुडहरु वितरण गर्न निर्देशन जारी गरेको उनले बताए ।

बैठकमा परराष्ट्र मन्त्रालयका सचिवले विपतमा परेकाहरुको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय सहयोग माग गर्ने भन्ने प्रस्ताव राखेको भए पनि बैठकले त्यसलाई स्वीकृत दिएन । बैठकले आन्तरिक व्यवस्थापनबाटै राहत र उद्धार गर्न सकिने निष्कर्ष निकाल्दै अहिले नै अन्तर्राष्ट्रिय सहयोगको खाँचो नपरेको निष्कर्ष निकालेको हो ।

पानी पर्ने क्रम अझै नरोकिए र बाढी पहिरो तथा डुबान हुने क्रम अझै बढे मात्रै अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि आह्वान गर्न सकिने तर अहिले नै त्यो अवस्था नरहेको भन्दै बैठकले परराष्ट्र मन्त्रालयबाट आएको प्रस्ताव अस्वीकृत गरेको बैठकमा एक सहभागीले जानकारी दिए ।

यस्तै सरकारले वर्षा नरोकिए अझै ठूलो क्षति पुग्न सक्नेतर्फ आवश्यक सजगता अपनाउन पनि सम्बन्धित निकायलाई सचेत गराएको छ । बाढी र पहिरोका कारण सबै भन्दाबढी क्षतिग्रस्त प्रदेश नम्बर १ र २ मा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको गृहसचिव राईले जानकारी दिएका छन् । जनकपुरमा डुबानमा परेकालाई उद्धार गर्न गएको हेलिकप्टर भने मौसम प्रतिकूल भएका कारण इटहरीतर्फ नै फर्किएको पनि उनले जानकारी दिए ।

वर्षासँगै कमला नदीको तटबन्धमा ढोका नलगाएका कारण नदीको पानी बस्तीमा छिर्दा सिरहामा डुबान भएको, रौतहटको गौरमा भने भारततर्फ बाँधिएको बाँधको ढोका नखोलिएकाले डुबान भएको र बाँधलाई नाघेर पानीको सतह माथि आएकाले सर्लाहीमा डुबान भएको निष्कर्ष मन्त्रालयले निकालेको छ ।