काठमाडौं । झमझम परिरहेको झरीले देशभर सर्वसधारणको जनजीवन प्रभावित भएको छ । तर, राजनीतिक खेल र तिकडमलाई भने झरीवर्षाले प्रभावित गरेको छैन ।
झरीवर्षाको बीचमा वाणिज्यमन्त्री मातृकाप्रसाद यादव नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बिहानै पुगेका छन् । ‘आज बिहान ७ बजे मन्त्रालयका केही फायलहरु बोकेर आउनुभएको थियो, आधा घन्टा बसेर जानुभयो’, प्रचण्ड निवास स्रोतले बतायो ।
मन्त्री यादवले प्रचण्ड निवासलाई ‘आधा मन्त्रालय’ बनाएको बुझिन्छ । आयातित तरकारीमा विषादी जाँच गर्ने रहस्यमय निर्णय पनि मन्त्री मातृकाले कृषिमन्त्री चक्रपाणी खनाल समेत बसेर प्रचण्ड निवासमै भएको बताइन्छ । दुई दिनअघि प्रचण्ड, मातृका र नेपालका लागि स्वीस राजदूतबीच खुमलटारमा गोप्य बैठक भएको थियो । सो बैठकबारे परराष्ट्र मन्त्रालयलाई जानकारी नभएको समाचार दिइसकेको छ ।
शुक्रबार देशव्यापी रुपमा झरीवर्षा भएर धनजनको क्षति भइरहँदा नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बसेको थियो । उपत्यकाको बाढी र डुबान छल्दै सीमित केन्द्रीय सदस्यहरु केन्द्रीय कार्यालय पुगे पनि केन्द्रीय समिति बैठक बसेको थियो । बैठकले बाढी पीडितको उद्दार र राहतमा खट्न कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको थियो ।
केन्द्रीय समितिको बैठकमा देउवा खेमालाई रामचन्द्र र सिटौला खेमाले कडा टक्कर दिइरहेको छ । पार्टी महाधिवेशन टार्ने र एकपक्षी समितिहरु गठन गर्ने चक्करमा लागेको देउवा खेमालाई शनिबार पनि झरीवर्षाले छेकेन । देउवा खेमाका नेताहरुबीच सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शनिबार साढे ११ बाट बेग्लै बैठक सुरु भएको छ ।
आइतबार बस्ने केन्द्रीय समितिको बैठकमा विपक्षी समूहहरुलाई कस्तो व्यवहार गर्ने र कस्तो रणनीति अपनाउने भनी देउवाले आफ्नो गुटका नेताहरुको बेग्लै भेला आयोजना गरेको बताइएको छ । त्यसैगरी रामचन्द्र गुटले पनि आज साँझ बेग्लै गुटभेला आयोजना गरेको छ । सनराइज खबरबाट


