- 'सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअनुसार अभियोगपत्र दर्ता भएपछि स्वत: पद निलम्बनमा पर्छ । ऐनको दफा-२७ अनुसार मुद्दाको अन्तिम किनारा नलागेसम्म कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिन्छ ।' -जिल्ला न्यायाधिवक्ता कमला काफ्ले
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बित हुने भएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअन्तर्गत अदालतमा अभियोगपत्र दर्ता भएकाले लामिछानेको सांसद पद स्वत: निलम्बन हुने भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले मुद्दाको अन्तिम टुंगो नलागेसम्म ऐनअनुसार लामिछानेको पद निलम्बित हुने बताइन् ।
'सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअनुसार अभियोगपत्र दर्ता भएपछि स्वत: पद निलम्बनमा पर्छ । ऐनको दफा-२७ अनुसार मुद्दाको अन्तिम किनारा नलागेसम्म कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिन्छ,' कान्तिपुरसँगको कुराकानीमा काफ्लेले भनिन् । अदालतमा अभियोगपत्र दर्ता गरिएकोबारे संसद् सचिवालयलाई जानकारीसहितको पत्र पठाउने तयारी भइरहेको पनि उनले बताइन् ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनको दफा २७ मा स्वत: निलम्बन हुने प्रबन्ध रहेको छ । 'प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,' उक्त दफामा उल्लेख गरिएको छ । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।




















