काठमाडौं—नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरिएको छ।

नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेको चरित्रहत्या गरेको तथा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाएको आरोप लगाउँदै बुधबार साइबर ब्युरोमा उजुरी दिएको हो।

काउन्सिलका अनुसार, उपाध्यायले आफ्नो प्रमाणित फेसबुक प्रोफाइलबाट असार १६ गते डा. दिपेन्द्र पाण्डेको तस्बिर अनधिकृत रूपमा प्रयोग गर्दै भ्रामक र निन्दनीय पोस्ट गरेका थिए। उक्त पोस्टमार्फत 'नक्कली डाक्टर' सम्बन्धी विषय उठाउँदै निमित्त रजिष्ट्रारसहित काउन्सिलका पदाधिकारीविरुद्ध गालीगलौज र आधारहीन आरोप लगाइएको काउन्सिलको दाबी छ।

नेपाल मेडिकल काउन्सिलले काउन्सिलमा दर्ता नभएका व्यक्तिहरूले एलोप्याथी औषधि लेख्ने तथा रेडियोलोजिस्टले गर्ने एमआरआईजस्ता विशेषज्ञ सेवा सञ्चालन गरेको उजुरीपछि कानुनी प्रक्रिया अनुसार छानबिन गरिएको जनाएको छ। छानबिनबाट दोषी देखिएका व्यक्तिविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाइएको र उक्त विषय हाल अदालतमा विचाराधीन रहेको काउन्सिलले उल्लेख गरेको छ।

काउन्सिलले आफ्नो नियमनकारी र कानुनी जिम्मेवारी अन्तर्गत गरिएको कामलाई पूर्वसचिव उपाध्यायले व्यक्तिगत रिसइबीको रूपमा चित्रण गर्दै सामाजिक सञ्जालमार्फत साइबर बुलिङ गरेको आरोप पनि लगाएको छ।

उजुरीमा उपाध्यायको गतिविधि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ विपरीत रहेको दाबी गर्दै सामाजिक सञ्जालको दुरुपयोग गरी संस्थाप्रति भ्रम, घृणा र द्वेष फैलाएको तथा संस्थाको पेसागत मर्यादामा गम्भीर आँच पुर्‍याएको उल्लेख गरिएको छ।

यसै आधारमा नेपाल मेडिकल काउन्सिलले उपाध्यायलाई तत्काल पक्राउ गरी कानुनबमोजिम आवश्यक कारबाही गर्न साइबर ब्युरोसँग माग गरेको छ।

काउन्सिलले प्रमाणका रूपमा उपाध्यायको फेसबुक पोस्टका स्क्रिनसट र अपमानजनक टिप्पणीहरू समेत प्रहरीलाई बुझाएको जनाएको छ।