जनकपुरधाम—धनुषा जिल्ला अदालतले दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा धितो राखेर करिब चार करोड रुपैयाँ ठगी गरेको आरोपमा एकै परिवारका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

अदालतले जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

धनुषाका विभिन्न व्यक्तिले दिएको अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरूलाई साउन १ गते पक्राउ गरेको थियो।

सो मुद्दामा धनुषा जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश हिरामाया अवालको इजलासले तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी हेमकुमार महतोले जानकारी दिए।

उनका अनुसार तीनै जनाविरुद्ध परेका नौमध्ये छ वटा मुद्दामा बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो। बाँकी तीन वटा मुद्दामा भने सुनुवाइ जारी रहेको छ।

अदालतको आदेशपछि गोपाल साह र उनका छोरा हरेरामलाई महोत्तरी कारागार तथा रेखा साहलाई सिन्धुली कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।