झापा — झापाको बिर्तामोड नगरपालिका–८ गरामनीमा साइकल चोरीको आरोपमा पक्राउ परेका एक व्यक्ति प्रहरीको हत्कडी फुत्काएर फरार भएका छन्।
फरार हुने व्यक्ति भद्रपुर नगरपालिका–१० का सन्देश हस्दा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गएराति करिब ११ बजे अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक राजकुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले साइकल चोरी गरेको आरोपमा हस्दालाई पक्राउ गरेको थियो।
पक्राउपछि हत्कडी लगाएर प्रहरी चौकीतर्फ ल्याउने क्रममा उनी प्रहरीको नियन्त्रणबाट फुत्किएर भाग्न सफल भएका हुन्। प्रहरी चौकी पुर्याउनुअघि नै उनी फरार भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले हस्दाको खोजी तीव्र बनाएको छ। सम्भावित स्थानहरूमा निगरानी बढाइएको र खोजीका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


