समयमै उद्धार गर्न नसक्दा भोटेकोशी सुरुङमा फसेकाहरूको ज्यान गएको भन्दै नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीद्वारा प्रधानमन्त्री बालेन शाहको कडा आलोचना। समर्थकहरूले घरमा आगो लगाउन खोजेको दाबी।

काठमाडौं — नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले भोटेकोशी बाढीपछि सुरुङमा फसेका नागरिकको समयमै उद्धार गर्न नसकेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कडा आलोचना गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै झाँक्रीले सरकारको अहङ्कार र अकर्मण्यताका कारण मानिसहरूले ज्यान गुमाउनुपरेको भन्दै यसलाई 'हत्या' को संज्ञा दिएकी छन्।

उद्धारमा ढिलाइ र सरकारको आलोचना

बिहान ८:४५ मा नै बाढी आउने सूचना प्राप्त भए पनि समयमै पूर्वसूचना जारी नगर्दा यति धेरै जनधनको क्षति भएको उनको दाबी छ। "सरकारको अहङ्कार र अकर्मण्यताले गर्दा आफ्नै कम्पनीलाई उद्धारमा काम गर्न दिइएन। ढिलो उद्धार गर्नु भनेको लास मात्र उठाउनु हो," सरकारलाई प्रश्न गर्दै उनले लेखेकी छन्, "यति धेरै फसेका व्यक्तिको ज्यान लिने हत्यारा को हो ? के यो हत्याको जिम्मा लिनु पर्दैन ?"

पीडितमाथिको दुर्व्यवहारको विरोध

नेतृ झाँक्रीले सुरुङमा फसेका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीकी श्रीमतीले विदेशी सहयोग लिएर भए पनि आफ्ना श्रीमानको छिटो उद्धार गरिदिन गरेको अपिलपछि ती महिलामाथि नै सामाजिक सञ्जालमा आक्रमण भएको भन्दै गम्भीर आपत्ति जनाएकी छन्। पीडितले सरकारसँग सन्तुष्ट छौं भनिदिनुपर्ने कस्तो भाष्य निर्माण गर्न खोजिएको हो भन्दै उनले प्रधानमन्त्री बालेन र उनका समर्थकहरूलाई 'कस्तो समाज बनाउँदैछौँ ?' भनेर प्रश्न गरेकी छन्।

आफूमाथि आक्रमणको प्रयास भएको खुलासा

आफ्नो स्ट्याटसमा झाँक्रीले बालेनका समर्थकहरूबाट विगतमा आफूमाथि भौतिक आक्रमणको प्रयास भएको गम्भीर खुलासासमेत गरेकी छन्। एक टेलिभिजन कार्यक्रममा ‘बालेनलाई उनकै समर्थकले एक दिन अप्ठ्यारो पार्नेछन्’ भनी टिप्पणी गरेकै भरमा समर्थकहरूले आफ्नो घरमा परिवारलाई भित्रै थुनेर आगो लगाउने प्रयास गरेको उनले स्मरण गरेकी छन्।

सिंहदरबारको प्रसङ्ग र समर्थकलाई चेतावनी

विगतमा बिदाको दिन श्रीमती सरकारी गाडीमा हिँड्दा प्रहरी चेकिङमा परेको झोकमा सिंहदरबार जलाउने चेतावनी दिएको र अन्ततः 'शून्य आईक्यू' भएका समर्थकहरूले सिंहदरबार जलाएरै छाडेको उनको आरोप छ। आफू परिवर्तनको आन्दोलनमा छातीमा गोली थाप्न तयार भएर होमिएको व्यक्ति भएको उल्लेख गर्दै झाँक्रीले सामाजिक सञ्जालमा गाली गर्नेहरूबाट आफू नडराउने स्पष्ट पारेकी छन्।

उनले लेखेकी छन्, "मलाई बतासेको गालीले केही फरक पर्दैन। मेरो वालमा कराउन आउनेहरू मेरो लागि फगत नम्बर मात्र हुन्। अब स्पष्ट बोल्दै जानुपर्ने बेला आएको छ।"