काठमा—नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले नेपाल प्रिमियर लिग (एनपीएल) को सफलताको शुभकामना दिँदै केपी शर्मा ओली र बालेन शाहको प्रसङ्ग जोडेर राजनीतिक सन्देश दिएका छन्।
भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ओलीले क्रिकेट मैदान निर्माणमा जोड दिएको र अहिले बालेनले त्यही मैदानमा एनपीएल उद्घाटन गरेको उल्लेख गरेका छन्।
उनले कांग्रेसले प्रजातान्त्रिक व्यवस्था स्थापनाका लागि गरेको सङ्घर्षको चर्चा गर्दै भनेका छन्, ‘कांग्रेसले प्रजातान्त्रिक घर बनाउँदा धेरै व्यक्तिले ज्यान गुमाए। जुन घरमा बालेनले प्रधानमन्त्री बन्ने अवसर पाए।’
भण्डारीले बालेनले टुँडिखेलमा दुबो रोपेको र कांग्रेसले स्वच्छ ठाउँमा अधिवेशन सम्पन्न गरेको प्रसङ्ग उल्लेख गर्दै कांग्रेसले भने बिग्रेको दुबो रोपिरहेको टिप्पणी गरेका छन्।
‘बुझ्नुपर्ने कुरा यही हो—देश बन्यो जनताका लागि, प्रजातान्त्रिक घर बन्यो विधि, प्रक्रिया र अवसरका लागि,’ उनले लेखेका छन्।
प्रजातान्त्रिक संस्थाभित्र व्यक्तिका इच्छाअनुसार फरक विचार र आवश्यकता हुन सक्ने उल्लेख गर्दै भण्डारीले संस्था र विचार बलियो भए मात्रै सबैका अवसर सुरक्षित हुने धारणा राखेका छन्।
‘अतिथि आउँछन्, जान्छन्; संस्था र विचार जीवित रहनुपर्छ,’ उनले लेखेका छन्। साथै, उनले नेपाल प्रिमियर लिगको सफलताको कामना गरेका छन्।


