काठमाण्डौ,९ चैत्र । स्पष्टीकरण सोधिएका नेकपा एमालेका पाँच जना नेताले जवाफ नदिने भएका छन्। एमालेको नवौं महाधिवेशनबाट पारित विधानलाई मिचेर अवैधरुपमा गठन गरिएको केन्द्रीय समितिको निर्णय स्वीकार गर्न नसकिने निष्कर्षसहित नेपाल पक्षले स्पष्टीकरण नदिने अडान लिएका हुन्।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शनिवार बसेको केन्द्रीय समितिको बैठकले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई प्रष्टीकरण सोध्ने निर्णय गरेको थियो। उनीहरूमाथि गुटगत भेला गरेर पार्टी विरोधी गतिविधि गरेको आरोप लगाइएको छ।

तर उनीहरूले बरु कारबाही भोग्ने, स्पष्टीकरण नदिने अडान लिएका हुन्। स्पष्टीकरण सोधिएकामध्ये प्रभावशाली नेता उपाध्यक्ष रावलले कारबाही भोग्न तयार भएको बताएका छन्। एक रेडियोसँगको कुराकानीमा भने, ‘कारबाही भोग्न तयार छु तर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमसामु झुक्दिनँ।’

स्पष्टीकरण सोधिएका अर्का नेता घनश्याम भुसालले स्पष्टीकरण सोधिएपछि पनि ओलीलाई गिरोहको सरदार भनेका छन्। ओली योभन्दा पनि अगाडि बढ्ने र कम्युनिस्ट पार्टी मात्र नभई राजनीतिक प्रणाली नै ध्वस्त गर्न लागेको आरोप लगाए।संदेश प्रवाहबाट