काठमाडौं,९ जेठ । नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ । वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ ।

निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत)को उपाध्यक्षमा कल्पना गुरुङ,महासचिव विनोद खुलाल ,सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको पदाधिकारी दर्ता भएका छन् ।

माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव नेपालको पार्टी बन्न सक्ने अनुमान गरिएको छ ।

राईले भने आफूले नेताहरुसँग सल्लाह नगरी पार्टी दर्ता गरेको नेपाल प्रेसलाई बताए । अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएदेखि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले आफूहरुले अलग पार्टी दर्ता गरेको उनको भनाइ छ ।

संखुवासभा जिल्लाका बासिन्दा रहेका राई अनेरास्ववियुको २२ औ रास्ट्रीय सम्मेलनमा  उपाध्यक्षमा हारेका थिए । उनी एमालेभित्र जुझारु युवा नेता मानिन्छन् ।

महासचिव बनेका खुलाल अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुबाट राजनीति गरेका हुन् । उनी २०६५ सालको स्ववियु चुनावमा सभापतिबाट बागी उम्मेवार बनेका थिए ।

नेपाल प्रेस बाट
https://www.nepalpress.com/2021/05/23/59049/