काठमाडौं, २५ असार । सत्तारुढ नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज (शुक्रबार) पनि बस्दै छ । बैठक सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने तय गरिएको छ । आजको बैठकले सहमतिसहित निष्कर्ष दिने वार्ता समितिका सदस्य सुवास नेम्वाङले बताएका छन् ।

एमालेको विवाद समाधान गर्न नेताहरु १० दिनदेखि निरन्तर छलफलमा रहे पनि ठोस प्रगाति भने भएको छैन । बिहीबार दुई पटक बसेको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । प्रधानमन्त्री एवं अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल गरी एमाले दुई समूहमा विभाजित छ । उनीहरुलाई एक बनाउने प्रयासले अहिले तीव्रता पाएको हो ।

कार्यदलका नेपाल पक्षीय सदस्य घनश्याम भुसालले बिहीबार साँझको बैठकपछि १० दिनदेखि कुनै प्रगति हुन नसकेको बताएका थिए । ‘हामीले १० दिनअघिबाट खास प्रगति गरेका छैनौं । अनौपचारिक छलफल गरेपछि केही एजेण्डा तयार गरेका थियौं । तर, विभिन्न कारणले ठोस, खास प्रगति हुन सकेको छैन’, उनले भने । ओली पक्षका तर्फबाट कार्यदल संयोजक समेत रहेका नेता सुवास नेम्वाङले भने आफू आशावादी रहेको बताएका थिए ।

एमालेले आन्तरिक विवाद मिलाउन ओली पक्ष र माधव नेपाल पक्षका पाँच–पाँच जना सदस्यहरु रहेको कार्यदल गठन गरेको छ । कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । यसैगरी नेपाल पक्षबाट भिम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त कार्यदलमा छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।

अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसद्ले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।