काठमाडौं,१९ चैत्र । नेपाली कांग्रेसले सो पार्टीका पुराना नेता गोविन्दराज जोशीलाई गरेको कारबाही आइतबार फुकुवा गर्ने निर्णय गरे लगत्तै जोशीले आफू कांग्रेस नै नभएकोले कारबाही फुकुवाको कुनै अर्थ नभएको प्रतिक्रिया जनाउनुभएको छ ।
जोशीले पत्रकार सम्मेलन आयोजना गरी वर्षौँदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गरेको सजाय आफू र आफ्नो परिवारले वर्षौँदेखि भोग्दै आएको बताउनुभएको छ । ‘विगतका वर्षमा मैले जे जति भोगेको छु त्यसको श्रेय नेपाली कांग्रससलाई सक्काउन लागि परेका केही राजनीतिज्ञहरूलाई जान्छ, १० औँ हजार कार्यकर्ताको मतलाई बेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारबाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो, यो सरासर गलत हो, यसप्रति मेरो घोर आपत्ति छ’, जोशीले पत्रकार सम्मेलन गरी भन्नुभयो ।
समस्या समाधानका निम्ति पटक पटक वार्ता टोली गठन गरी वार्ताको प्रयास गर्दा पनि पार्टीले बेवास्ता गरेको जोशीले बताउनुभयो । सम्पूर्ण प्रयासका बाबजुद वार्ताको वातावरण समेत नबनाउने, पार्टीमा सैद्धान्तिक विचलन ल्याउनेबाट अहिले जनतालाई दिग्भ्रमित गर्ने गरी गरिएको निर्णयको जति आलोचना गर्दा पनि कम हुने जोशीले बताउनुभएको छ ।
नेपाली कांग्रेसले सम्बन्धित मान्छेसँग कुनै सल्लाह नगरी एकलौटी रूपमा गरेको निर्णय हर हालतमा मान्न तयार नरहेको जोशीले बताउनुभयो । ‘चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट विचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु’, जोशीले भन्नुभयो ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र चितवन जिल्लाका पूर्व सभापति विकास कोइरालामाथिको गरेको अनुशासनको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।
वैशाख १० गते चितवन र तनहुँका एक/एक निर्वाचन क्षेत्रमा हुने निर्वाचनलाई लक्षित गरेर कांग्रेसले उहाँहरूलाई गरेको कारबाही फुकुवा गरेको हो । कोइरालाले भने कुनै प्रतिक्रिया जनाउनुभएको छैन ।




















