✍️ हिकमत बस्नेत 

विकल्प रोज्ने कि मुलधार भनेर प्रश्न गर्दा सबैले मुलधार भन्नु स्वाभाविक हो किनकि यसको निर्माणमा ठूलो त्याग र बलिदान एवम् समर्पण प्रयोग भएको हुन्छ । तर यसको मालिक म मात्र हुँ भनेर कसैले हुँङ्कार गर्छ र अग्रज र समकक्षीको हुर्मत लिनेगरी मुलधारको मसिहा आफुलाई मात्र सावित गर्न खोज्ने प्रवित्तिले विकल्पको बाटो तयार गर्दछ ।

दोस्रोकुरा भइरहेका शक्तिहरूबाट राजनीति र समृद्धिको यात्रा सहीमार्गमा हिड्न नसक्दा विकल्प रोजाईको विषय बन्न सक्छ तर पात्र उनै भएको बैकल्पिक शक्ति कि पात्र परिवर्तन भएको बैकल्पिक शक्ति ?भन्ने अर्को प्रश्न फेरी उठ्न सक्छ । स्थापित पुराना मान्यताले नेतृत्व गरिरहेको अवस्थामा विकल्प स्थापित हुन निकै कठिन हुन्छ । तसर्थ द्वन्द्व व्यवस्थापनको कुन कार्यशैलीबाट अगाडि बढ्दा सबेपक्षले जितेको महसुस हुन्छ यसको पहिचान गर्नु पर्दछ ।

भित्रबाट चुकुल लाएर भित्र आउन दे कै छ भन्ने र गेटबाट बाहिर नजाउञ्जेल भित्रै छु भन्ने अवस्थामा कतिञ्जेल बस्न सकिन्छ । कहिलेकाही अपमान सहेर पनि घरैमा बस्नु पर्ने हुन्छ । सहि र सत्यको अन्तत मुल्याङ्कन हुन्छ तसर्थ विकल्प होइन मुलधारलाई नै समायोजन गरेर अगाडि बढ्न उपयुक्त वातावरण निर्माण गरौँ ।

नेपालको कम्युनिष्ट आन्दोलन चरम महत्वकांक्षा र गुटगत गतिविधिले क्षत विक्षत भएको बेला नेतृत्वलाई जनस्तरबाट निम्न अवस्था रहेको सुझाव दिन बाञ्छनीय ठानी बुँदागत रूपमा सुझाव उल्लेख गर्न चाहन्छु :

१. नेपाली जनताको आशा र अपेक्षा कम्युनिष्ट पार्टीका माध्यमबाट राष्ट्रको समुन्नति हुन सक्छ भन्नेमा दृढताका साथ उभिएको छ ।

२. कम्युनिष्ट आन्दोलनको कार्यदिशा समाजवाद उन्मुख अर्थतन्त्रको विकास गरी उत्पादन र रोजगारी सिर्जना गरेर जनहितमा काम गरी स्थापित भएर अगाडि बढ्नु पर्ने नै हो ।

३. राज्यका राजकीय स्थानमा जननिर्वाचित भएर कामगर्ने अवसर पनि नेपाली जनताले पटक पटक दिइरहेकै हो ।

४. अवसरको सदुपयोग गर्न वर्तमान नेतृत्व असफल भएको छ।

५. नयाँ पुस्ता पनि भरोषायोग्य बनेर स्थापित भै सकेको छैन ।

६. विकल्प थुप्रै छन् नयाँ शक्तिको खाँचो पनि छ तर अहिले अस्तित्वमा रहेका देखावटी ब्राण्डले ति विकल्प प्रभावकारी बन्न सक्ने अवस्था पनि छैन ।

७. वहश र छलफल गर्ने क्षमतामा विकास भएको छ । सवै मानिस आफ्ना कुरा राख्न सक्ने ठाउमा हुनु हुन्छ । तर व्यवहारमा ल्याउन ब्यवधान छन् ।

८. राजनीतिक वहशको अग्रिम मोर्चामा कम्युनिष्ट पार्टी छ । तर बहश सिर्जना र निर्माणका लागि होइन विभाजन फुट र ध्वङ्स तर्फ केन्द्रीत छ ।

९. द्वन्दको समायोजन समयमा हुन नसक्नु, स्वार्थका टकरावहरू र प्रभावकारी काम गर्ने संयन्त्र निर्माण गर्न नसकि अरूको इसारामा चल्नु पर्ने बाध्यता नेपालीहरूको दुर्भाग्य भन्नु पर्दछ ।
१०. भ्रष्टाचार र अपवित्र धन आर्जन गर्न निर्लिप्त भएर लाग्ने प्रवृत्तीबाट हामी माथि उठ्न सकेनौ ।

११. योग्यता र क्षमता अनुसार काम र जिम्मेवारि दिनुको सट्टा आार्थिक लाभ गुटगत र पारिवारिक पक्षधरता तथा अन्धभक्त समर्थकका लागि उच्चतम पदहरूमा पुर्याउने काम गर्यौ जसको परिणाम स्वरूप भजन मण्डली त तयार भए तर गुणस्तरीय जनशक्ति तयार भएन र गुणस्तरीय प्रतिफल पनि प्राप्त गर्न सकिएन ।

यस्तो अवस्थामा गतिहिन ढङ्गले नेतृत्व पङ्ति निर्णय हिन अवस्थामा रहेने हो भने भोलि जन स्तरबाट ठाँउठाउबाट विद्रोहको अभियान उठ्ने छ । पार्टीबाट अलग भएको घोषणा तलका कमिटी र कार्यकर्ताहरूले सुरुवात गर्नेछन् त्यसबेला समाल्न वर्तमान नेतृत्वलाई फलामको च्युरा चपाउनु जत्तिकै कठिन हुने छ ।