काठमाडौं,२४ साउन । नेकपा एमालेले आज आइतबारका लागि बोलाएको केन्द्रीय समिति बैठक एक दिन पर सारेको छ । आवश्यक तयारी पुरा नभएकाले एक दिन पर सोमबारसम्मलाई बैठक सारेको एमाले नेताहरुले बताएका छन् । तर, कस्तो तयारी भन्नेबारे उनीहरुले केही खुलाएका छैनन् ।

केही तयारी पुरा भएन । अर्कोतर्फ माधव पक्षले आइतबारको बैठक स्थगित गर्न आग्रह समेत गरेकाले बैठक सोमबारलाई सारिएको हो’, एमाले केन्द्रीय सदस्य तथा कार्यलय सचिव शेरबहादुर तामाङले भने,‘धेरै दिन सार्न समय छैन ।’

उनले माधव समुहका नेताहरुसँग छलफल समेत जारी रहेको बताए । ‘अनौपचारिक रुपमा नेताहरुबीच वार्ताहरु भइरहेका छन् । उहाँहरु अव भोलीको बैठकमा आउनुको विकल्प छैन । अव भोली नआउनेहरु छुट्छन्’, तामाङको भनाइ छ ।

यसैबीच आइतबार बिहानैबाट विघटित कार्यदलका नेताहरुबीच पार्टी एकताबारे छलफल भइरहेको छ । गोप्य रुपमा भएको छलफलमा पार्टी एकताको विन्दु पहिल्याउने प्रयास भइरहेको बुझिएको छ ।

‘पार्टी एकताबारे विभिन्न ढंगले कुराकानी भइरहेको छ’, कार्यदलका एक नेताले भने, ‘आज बेलुकासम्म कुनै परिणाम आउछ कि भन्ने छ ।’

गत शुक्रबार सम्पन्न माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले १० बुँदे सहमति एकताको आधार मान्न सकिने भएपनि त्यो नै पर्याप्त नभएको निश्कर्ष निकालेको थियो । साथै एकता प्रक्रिया चलिरहेका बेला अध्यक्ष ओली पक्षले अघि सारेका सांगठनिक गतिविधिले एकताको वातावरण बिथोलिने भन्दै त्यस्ता गतिविधि रोक्न ध्यानाकर्षण गराएको थियो ।