काठमाडौं,३२ साउन । नेकपा एमालेका नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गरेका छन् ।
आन्तरिक बैठकलाई सम्बोधन गर्दै नेपालले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको प्रयास पनि असफल भएको बताए ।
नेपालले भने, ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।’
नेपालले अहिले विभाजन भए पनि एकताको ढोका खुला रहने र अन्य कम्युनिस्ट पार्टीहरुसँग पनि सहकार्य हुने बताए । उनले उत्साहका साथ मैदानमा खटिन कार्यकर्तालाई आग्रह गरे ।
त्यसैगरी अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र संविधान विरोधी शक्तिसँग साँठगाँठ गरेको आरोप लगाएका छन् । ओलीकै कारण एमालेले छँदा खाँदाको बहुमत गुमाएको र सरकारबाट बाहिरिनु परेको उनको गुनासो छ ।
ओलीले १५ सिट भएको पार्टीका ११ जनालाई मन्त्री बनाएको भन्दै नेपालले आलोचना गरे । नेपाले भने, ‘उहाँले आफ्नो पक्षमा नरहेका एक–एक कार्यकर्तालाई पाखा लगाउनुभयो । केन्द्रमा त्यस्तैगर्नुभयो । मान्छेले अन्याय भोग्नुपर्यो भने के विद्रोह गर्छ कि समर्पण गर्छ ? विद्रोहीले नै नयाँ निर्माण गर्न सक्छन् ।’
अध्यक्ष केपी ओलीका कारण पार्टी गणतन्त्रविरोधी हो कि भन्ने प्रश्न उत्पन्न भएको बताएका छन् । उनले ओलीकै नजिकका मान्छेबाट संघीयताविरोधी आवाजहरू उठ्न थालेको भन्दै असन्तुष्टी जनाए ।
आफूनिकट जनसंगठनका नेता/कार्यकर्तासँग भर्चुअल संवादमा बोल्दै नेता नेपालले ओलीको तीव्र आलोचना गरेका थिए । उनले ओलीले पार्टीको दुर्दशा बनाएको भन्दै यसलाई माथि उठाउन अब लामो समय लाग्ने टिप्पणी गरे ।
नेपालले भने, ‘उहाँले एकपछि अर्को आफ्ना सहयोद्धालाई छोड्दै जानुभएको छ । साथ दिनेहरूसँग टाढिँदै जानुभएको छ । आज उहाँले पार्टीलाई जुन दुर्दशामा पुरयाउनु भएको छ, त्यसको क्षतिपूर्ति गर्न लामो समय लाग्छ ।’
ओलीले देशभक्तिको झण्डा फालेको र लोकतन्त्रको मूल्यमान्यता त्यागेको आरोप पनि लागाए । ‘उहाँका कारण आज एमाले गणतन्त्रविरोधी हो कि भन्ने प्रश्नचिन्हमा उभिएको छ,’ उनले भने, ‘राजावादी शक्ति उत्साहित बनेका छन् । राजतन्त्रको पुनस्र्थापना हुने खतरा बढेको छ । प्रतिगमनकारी शक्ति, धर्मनिरपेक्षताविरोध शक्ति सल्बलाउन थालेका छन् ।’
नेपालले थपे, ‘उहाँको नजिकका व्यक्तिहरुबाट संघीयताविरोधी आवाजहरु उठिरहेका छन् । संघीयता नै धराशयी हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ । जनताले पाएका अधिकार गुम्ने चिन्ता छाएको छ । विभिन्न जातजातिहरू चिन्तित बनेका छन् ।’




















