म आजकल मानिसहरूमा विवेक र नैतिकताको स्खलन द्रुत गतिमा भएको देख्दा त्यसै निराश हुन्छु ! सन्दर्भ कम्लहरी हुँदै सांसद सम्म बन्न पुगेकी चर्चित शान्ता चौधरी, कुनै बेला मेरो घरकी कम्लहरी कुमारी महतो र म आफैको हो !
सायद केहि वर्ष पहिले, शान्ता चौधरीलाई क्यान्सर भएर उपचार खर्च बापत सरकारले केही रकम उपलब्ध गराएको थियो ! तर उनले उपचार गरेर बचेको रकम सरकारलाई नै फिर्ता गरेर अरूहरूलाई आर्थिक पारदर्शीको नैतिक पाठ सिकाएकी पनि थिइन ! यस्तै विविध कारणले धेरैको प्रशंसा बटुल्न सफल शान्ता चौधरीको गत २ वर्ष देखिका भनाइ हेर्दा दुख लागेर आउँछ ! उनले आफ्नै अग्रज नेता जसले उनलाई कम्लहरी बाट सांसद जस्तो गरिमामय स्थानमा पुराउन दसकौँ सङ्घर्ष गरे, आज उनीहरूको नै उछितो काटेर दिन बिताएकी छिन् भन्दा लाज लागेर आउंछ ! केपी ओली जसले २ पटक सम्म संसद् भङ्ग गरेर, धन्नै संविधान बनाउन लागेको ३४ अरब भन्दा बढी रकम खरानी बनाउने असफल प्रयत्न गरेका थिए, आज शान्ता चौधरी उनै केपी ओलीको कमलहरी जस्तै गरेर माधव नेपाल र प्रचण्ड लाई उनको हैसियत बिर्सने गरी गाली गर्नमा व्यस्त छिन् ! स्मरण रहोस्, जसले शान्ता चौधरी जस्तै निमुखाको लागी दसकौँ सङ्घर्ष गरे ! आज उनीहरू माथि नै औँला ठडाउँदै विभिन्न छुद्र शब्द बाणले अपमान जनक गाली गर्ने केपी ओलीको पछि लागेर कम्लहरीकै भूमिका देखाउन कसरी मन लागेको होला ! हुन त यस्तै भूमिकामा अन्य धेरै नेता गणहरू पनि छन् ! नैतिकताको यो स्तरको स्खलनले हाम्रो समाज कता जाँदै छ ? के यस्तो सोचाइले हामीलाई ठिक गन्तव्यमा पुराउँछ ?
खै के हो म अल्लि बढिनै थारुहरू प्रति संवेदनशील भएर हो अथवा म उनीहरूलाई बढी नै इमानदार, सहयोगी, र सिधा सादा समुदायको रूपमा आबस्यक भन्दा बढी बुझेर हो थाहा छैन ? शान्ता चौधरीको विगत २ वर्ष देखिको बोलाई सुन्दा, सायद मैले उनलाई अल्लि बढी नै विश्वास र बढी नै मुल्यांकन गर्याँकी भन्ने महसुस भएको छ ! शान्ता चौधरीको सत् बुद्धि बेलैमा आओस् !
एस सन्दर्भमा, मेरो थारु जातिहरु संगको सामीप्यता सम्बन्धी छलफल उचित नै हुनेछ ! म चितवनको दुर्गम क्षेत्र माडी जहाँ थारु बस्तीको बाहुल्य छ, स्वभाबिक रुपले मेरो स्कुले उमेर थारुका बच्चाहरू सँगै खेलेर व्यतीत भयो ! हाम्रो परिवार थारुहरूलाई अझै पनि अति नै मन पराउँ छन् ! सायद त्यसैले होला, हामी सबै दाजु भाइ मिलेर बुवा-आमाको सम्पत्ति बाट अंश बापत प्राप्त हिस्साको करिब ३३% रकम, जुन हाल रू २ करोड ५० लाख बराबर धनराशि हुन आउँछ, आज भन्दा १० वर्ष अगाडी देखि अक्षय्य कोषको स्थापना गरी माडी छेत्रका पाँच स्कुल र चितवनकै वृद्ध आश्रममा पनि सहयोग गर्दै आएका छौँ ! खास गरेर गरिब तर जेहनदार बोटे, थारु र अन्य निम्न आय भएका विद्यार्थीलाई उक्त धनराशि बाट प्राप्त ब्याज रकम प्रत्येक वर्ष सहयोग गर्दै आएका छौँ ! हाम्रो परिवारले विशेष गरेर आफ्ना गाउँका थारु परिवारलाई निरन्तर जागीरमा लगाउने तथा अन्य सहयोग पनि गर्दै आएका छौँ ! धेरै थारु समुदाएका व्यक्ति लाई सहयोग गर्दा गर्दै पनि आफ्नै घरमा काम गर्न बसेकी कुमारी महतो लाई खासै सहयोग गर्न नसकेकोमा म अझै बेला बेलामा दुखीत हुन्छु ! कहिले कहिले आफूले जीवनमा ठुलै गल्ती गर्यांकी जस्तो भान हुन्छ !
त्यति बेलाको चलन अनुसार हामीले पनि ७ वर्ष कि थरुनी, कुमारी महतो, काठमाडौँ घरमा काम गर्न सहयोगी राखेको थियौँ ! तर मैले उसलाई खान र लाउन मेरै छोरा छोरी सरह गरेर राखे ता पनि, स्कुलमा पढाउन भने के भएर हो राखेन छु ! तर घरमा पढाएर साक्षर भने भएकी थी ! मेरो घरमा बस्दै गर्दा उ १४ वर्ष जति भई सकेकी थी ! उसले, राम्रो संस्कार त सिकेकी थी, तर, उ अब थारु बोल्न र आफ्नो गाउँमा जान मन नलाग्ने पनि भई सकेकी थी ! तर मलाई भने, उसलाई कसरी घर पठाउने होला भन्ने चिन्ता लाग्न थालेको थियो ! किन भने, एकातर्फ उ भागेर हराऊ छे कि भन्ने डर, अर्को तर्फ राखौँ भने ठुली भइसकी पढाएको पनि छैन ! मलाई उसको भविष्य माथि चिन्ता लाग्न थाल्यो ! मलाई तत्कालीन समयमा उसको भविष्य घर फिर्ता पठाउँदा नै ठिक हुन्छ जस्तो लग्यो ! उसको भिनाजु कमाएको तलब लिन काठमान्डु आएको बेलामा बल्ल बल्ल सम्झाएर उसको भिनाजु सँगै पठाउन सफल भयाँ ! यदि मैले उसलाई बेलैमा स्कुलमा पठाएको भए, सायद उसलाई मैले घर फिर्ता पठाउने थिइन ! मलाई अझै पनि उसलाई स्कुल पठाउन नपाएकोमा जिन्दगीको ठुलो भुल र पछुतो महसुस भएर आउँछ ! सायद त्यसैले होला, नेपाल गएको बेला केही आर्थिक सहयोग गरेर भए पनि मनको चित्त बुझाउने अझै पनि मन छ ! सायद त्यो पनि केही वर्ष भित्र पुरा गर्ने छु !




















