काठमाडौं,८ भदौ । माधवकुमार नेपाल अध्यक्ष रहने गरी प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीले मार्क्सवाद-लेनिनवाद मार्गदर्शक सिद्धान्त रहने गरी पार्टीको १० बुँदे स्थापना घोषणा पत्र जारी गरेको छ। काठमाडौंको चन्द्रागिरिमा भएको पार्टीको पहिलो बैठकले घोषणा पत्र जारी गरेको हो।

घोषणा पत्रमा भनिएको छ, ‘मार्क्सवाद-लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो। यसमा रहेको द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण, परिवर्तनकारी दृष्टिकोण, श्रमजीवी वर्गको पक्षपोषण गर्ने दृष्टिकोण, जन-सार्वभौमसत्ताको दृष्टिकोण र सिद्धान्त र व्यवहारबिच एकरूपताको दृष्टिकोणजस्ता मूलभूत सैद्धान्तिक प्रस्थापनाहरू आज पनि उत्तिकै सान्दर्भिक छन्।’

मार्क्सवाद कुनै जडसूत्र नभएर एक गतिशील वैज्ञानिक सिद्धान्त रहेको उल्लेख गरिएको छ। यसको प्रयोग सिर्जनात्मक रूपमा हुनु पर्ने पनि घोषणा पत्रमा उल्लेख छ। घोषणा पत्रमा भनिएको छ, ‘सामाजिक-आर्थिक-सांस्कृतिक रूपान्तरणमार्फत नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुनेछ। नेपाल कम्युनिष्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्नेछ।’