काठमाडौं,८ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको बैठक बसिरहेको छ। चन्द्रागिरि रिसोर्टमा सोमवारदेखि सुरु भएको बैठक मंगलवार पनि जारी छ। नेकपा एमालेमा विभाजन भएपछि माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा नेपालसहितका नेताहरूले निवेदन दिएका छन्।

निर्वाचन आयोगले सनाखतका लागि उनीहरूलाई बुधवार बोलाएको छ। सनाखतमा बोलाइएको दुई दिन अघिदेखि नेपाल लगायतका नेताहरू आवासीय छलफलमा जुटेका हुन्। एमाले त्याग्न तयार ३२ जना संघीय सांसद र केन्द्रीय सदस्य गरी ६० जना नेताहरू बैठकमा सहभागी रहेको बताइएको छ। बैठकमा एमाले उपाध्यक्ष भीम रावल निकट सबै नेताहरू सहभागी भएका छन्।

सुदूरपश्चिममा रावल निकट रहेका झपट रावल बाहेक सबै नेताहरू समाजवादीको केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्। नेता रावलको अत्यन्त निकट मानिने अछामबाट राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवर पनि सहभागी छन्। कुँवर अछाममा रावलको व्याक बोन मानिन्छन्। अछाममा एमालेका अध्यक्ष रहेका कुँवरलाई केपी शर्मा ओलीले अपदस्थ गरेका थिए। कुँवरले अन्ततः रावलको साथ छोडेका छन्।

त्यस्तै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी समेत बैठकमा सहभागी छन्। रावलका अत्यन्त निकट मानिने सोडारीको प्रदेश सभामा समेत बलियो पकड छ। सोडारीले पनि रावलको साथ छोडेका छन्। समाजवादीको बैठकमा सुदूरपश्चिमबाट प्रतिनिधि सभा सदस्य प्रेम आले, बिना बुढाथोकी, लक्ष्मी चौधरी र निरादेवी जैरु पनि सहभागी छन्। त्यस्तै उर्वादत्त पन्त, राम कुमार ज्ञवाली, बीर बहादुर बुढाथोकी र बिक्रम शाही पनि समाजवादीको केन्द्रीय समितिको बैठकमा सहभागी छन्।