काठमाडौं,११ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो दलमा नआए सहयोग नगर्ने बताएका छन्। योसँगै मुख्यमन्त्रीद्वय भीम आचार्य र अष्टलक्ष्मी शाक्य संकटमा परेका छन्।

पार्टी विभाजनपछि बागमती र प्रदेश १ सरकार जोगाइराख्न एमालेले मुख्यमन्त्री फेरबदल गरे पनि संकट जस्ताको तस्तै देखिएको छ। नवनियुक्त दुवै मुख्यमन्त्रीले एक महिनाभित्र लिनुपर्ने विश्वासको मत आर्जन गर्न नसक्ने देखिएको छ।

एमालेबाट अलग्गिएर माधवकुमार नेपालले निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिएकै दिन २ भदौमा एमाले नेतृत्वले बागमतीका मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गर्न लगाई अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएको थियो।

नेपाललाई नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रमाणपत्र दिएको भोलिपल्ट बिहीबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गर्न लगाई एमालेले भीम आचार्यलाई मुख्यमन्त्री बनाएको छ। शाक्य र आचार्य केही दिनअघिसम्म नेपाल समूहका बलिया पिलर थिए।