काठमाडौँ,१५ भदौ ।  लुम्बिनी प्रदेशसभाका एमाले सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन्। नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले नयाँ पार्टी रोजेकी हुन्।

मंगलबार प्रदेश निर्वाचन आयोगको कार्यालय, दाङ पुगेर घर्तीले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेकी हुन्। पाल्पाकी सांसद घर्तीले आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा सनाखत गराएकी हुन्। घर्ती लुम्बिनी प्रदेशसभामा एकीकृत समाजवादी पार्टीको पक्षमा खुल्ने एमालेकी एक्लो सांसद हुन्।

एमालेबाट विभाजन भई नेकपा एकीकृत समाजवादीले दल दर्ताको प्रमाणपत्र पाएपछि एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म दल रोज्न पाउने व्यवस्था निर्वाचन आयोगले मिलाएको छ। पार्टी विभाजनपछि दुबै दलले जनप्रतिनिधिहरुलाई आफूतिर तान्ने कसरत गरिरहेका छन्। ८० सदस्यीय प्रदेश सभामा एमालेका ३७ सांसद थिए। घर्तीले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ भएको छ।