काठमाडौं,१७ भदौ । नेकपा एमालेभित्र तेस्रो धारका दोस्रो पुस्ताका नेताहरुबीच खटपट सुरु भएको छ।नेकपा एमालेले जेठ २ मा फर्कने निर्णय गरेको एकसाता नबित्दै सो पार्टीभित्र अध्यक्ष ओली र नेपाल छोडेर ओलीतिर लागेका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरुबीच खटपट सुरु भएको हो।

गत भदौ ९ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने निर्णय गरेर परिपत्र जारी गरेको थियो। तर, अध्यक्ष केपी ओली एकलौटी अघि बढ्न खोजेपछि एमालेमा विवाद र खटपट सुरु भएको हो।

संगठनको आधिकारिक फेसबुकमा भनिएको छ, ‘यस संगठनको सचिवालयको बैठक तथा केन्द्रीय समितिको भर्चुअल बैठकमा छलफल भई भाद्र १८ गते २ बजे पुनर्जागरण भेला राखिएको हुँदा भोलिको भेला यथावतरुपमा सञ्चालन हुने व्यहोरा सबैमा अनुरोध गर्दै भोलि शुक्रबार २ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा हुने भेलामा सहभागी भै दिनुहुन विनम्र अनुरोध गर्दछौं।’

तुल्सीलाल प्रतिष्ठानमा हुने भेलामा प्रमुख अतिथिका रुपमा अध्यक्ष केपी ओली सहभागी भएर सम्बोधन समेत गर्ने कार्यक्रम तय भएको छ। तर, ओली पक्षले यसरी भेला बोलाएपछि पीपीएलएका अध्यक्ष रुद्रप्रसाद नेपालले उक्त भेला बोलाउने कुनै संस्थागत निर्णय नभएको भन्दै पीपीएलका सदस्यहरुलाई सहभागी नहुन सूचना नै जारी गरेका छन्।

अध्यक्ष नेपालले बिहीबार एक अपिल जारी गर्दै भनेका छन्, ‘सामाजिक सञ्जालमा भोलि अर्थात भदौ १८ गते शुक्रबारका दिन पीपीएलए केन्द्रीय समितिका नाममा बोलाइएको भनिएको भेला संस्थागत निर्णयबिना भएकाले उक्त भेलाबारे पीपीएलएलाई संस्थागत रुपमा कुनै जानकारी नभएको व्यहोरा अनुरोध छ। पीपीएलएको एकता बचाउन चाहने कानुन व्यवसायीलाई उक्त भेलामा सहभागी नहुन हार्दिक अपिल गर्दछु।’

भदौ १० मा बसेको एमाले केन्द्रीय समिति बैठकले कार्यदलको १० बुँदे प्रस्तावका आधारमा पार्टीका सवै संरचना जेठ २ अघिको अवस्थामा फर्काएर पार्टी संरचना क्रियाशील गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने क्रममा कुनै विवाद भएमा त्यसको समाधान गर्न कार्यदलसमेत गठन गरेको छ।