काठमाडौं,२३ भदौ । नेकपा (एकीकृत समाजवादी)का सांसद रामकुमारी झाँक्रीले एमालेलाई संसदका हत्याराको संज्ञा दिएकी छन्। बुधवार बसेको प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा झाँक्रीले संसद्का ‘हत्यारा’हरूले गैराजनीतिक चरित्र देखाएको बताइन्।
उनले नेकपा एमालेले गरेको संसद् अवरोधलाई स्तरहीन चरित्रको रूपमा चित्रण गरिन्। उनले आफूहरूलाई गैरसांसद भनेको विषयमा बोल्नै मन नभएको बताइन्। ‘यस्ता स्तरहीन चरित्रका विषयमा प्रतिक्रिया दिन मन छैन,’ उनले भनिन्, ‘उहाँहरूको औकात र चरित्रअनुसार सुहाउँदो काम गर्नु भएको छ। संसदका हत्याराहरूले हामीलाई गैरसांसद भन्नु आश्चर्यको विषय होइन।’
एमालेले आफ्नो औकात अनुसारको व्यवहार बुधवारको संसदमा देखाएको झाँक्रीको टिप्पणी छ। एमालेले सांसद झाँक्रीसहित १४ जना सांसदलाई गैरसांसदको संज्ञा दिएको छ। एमालेले ‘गैरसांसदलाई संसदमा राख्न पाइँदैन’ भन्दै संसदमा नारा नै लगाएको थियो। सोही सन्दर्भमा झाँक्रीको प्रतिक्रिया थियो, ‘उहाँहरूको औकात अनुसारको काम गर्नुभएको छ।’




















