रामेछाप,१५ चैत्र । घाम डुब्न लाग्दै थियो । बस्ने बासको कुनै ठेगान थिएन । सोमबार साँझ पर्नै लाग्दा टोलका युवाहरू आगोले जलेर भग्नावशेष भएका घरबाट निकालेको जस्ता पाता टाकटाक टुकटुक पारेर छाप्रो बनाउँदै थिए । महिला बालबालिका र ज्येष्ठ नागरिक टाक्राक टुक्रुक यताउति बसेका थिए ।सिङ्गो गाउँबाट धुवाँ र आगोको गन्ध आइरहेको थियो । कतिपय घरका भित्र जलेका अन्न र लुगाको गन्ध धुवाँमा मिसिएको थियो । बस्ती पुरै खण्डहर थियो । सहयोगको आसमा जिजीविषा बोकेर बाँच्दै थिए गाउँलेहरू ।रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ रजयछापमा ।

नगरपालिकाको केन्द्र रामेछापबाट कच्ची सडकमै दुई घण्टाको यात्रा गरेर बल्ल पुगिने खोँचको बस्ती ।नेवार र मगर समुदायको बसोबास रहेको सो बस्तीका गाउँलेले दुःख सुख गरेर जीवन चलाउँदै आएका थिए । तर ती गाउँले माथि गएको शनिवार शनिबार बज्रपात भयो । हेर्दा हेर्दै सिङ्गो बस्ती नै खरानी भयो ।गाउँको नजिकै जङ्गलमा लागेको डढेलो गाउँमा पस्यो । स्थानीय विनोद श्रेष्ठको घर आगोले टिप्यो । उहाँको घरमा लागेको आगो सँगै जोडिएको अर्को घरमा सर्‍यो । त्यस पछि आगो विद्युत् तारमा पुग्यो ।विद्युत्को तारमा आगो लागेपछि घरघरबाट आगोको राँको निस्कियो । केही क्षणमा नै ११ घर परिवारको घर गोठ जलेर खरानी बने ।

स्थानीयको अथक प्रयासले दुई तीन वटा घर भने जोगिए । न बाँकी घर गोठ जोगाउन सके, न धन माल नै बचाउन सके ।‘म त गोठालो गएको थिएँ, आगलागी भयो रे भनेर दौडँदै आएँ, आउँदा त घरबाट आगोको राँको निस्किएको थियो, केही गर्न सकिएन, हेर्दा हेर्दै सबै जलेर खरानी भयो’, स्थानीय घनबहादुर श्रेष्ठले भन्नुभयो ।सोमबार पनि उहाँको घरको जलेको भग्नावशेषमा आगो निभेको थिएन । ‘बुइँगलमा धान थियो, अहिले त्यही धानमा लागेको आगो बलि रहेको छ, कोठामा पाँच तोला जति सुनको गहना थियो, केही निकाल्न पाइएन, लगाएको लुगा बाहेक केही बाँकी रहेन’, उहाँले भन्नुभयो ।दशाले घेरेपछि चारै तिरबाट घेर्छ भनेजस्तै भयो घनबहादुरलाई ।

घरमा आगो लागेपछि बचाउन बाख्रा फोइदिनुभयो । फुकाएका बाख्रा फेरी आगोकै लप्को तिर गए र पाँच वटा खसी बाख्रा जलेर मरे ।आगलागीमा परी भैँसी र गाई पनि जले । ‘यहाँको अवस्था देख्न र सहन नसकेर पल्लो गाउँमा भतिजको घरमा गएर बसेको छु’, उहाँले भन्नुभयो ।ठेकबहादुर मगरको पनि व्यथा फरक छैन । उहाँ पनि शनिबार गोठालो जानुभएको थियो ।गाउँमा आगो लागेको सुनेर दौडँदै आउनुभयो । ‘म आउँदा काकाको घर दन्की रहेको थियो, गाउँलेहरू जम्मा भएर मेरो घर बचाउने प्रयास गर्‍यौँ, तर सकिएन, हेर्दा हेर्दै घर खरानी भएर ढल्यो’, उहाँले भन्नुभयो ।शनिबार भएको आगलागीमा परी सो गाउँका ११ घर परिवारका १५ घर गोठ जलेर नष्ट भए । सिङ्गो गाउँ नै घरबार विहीन बन्यो ।गाउँमा आगलागी भएको खबर थाहा पाएपछि नेकपा एमाले वाग्मती प्रदेश सदस्य तथा रामेछापबाट निर्वाचित वाग्मती प्रदेश सभा सदस्य शान्तिप्रसाद पौडेल सहितको एमाले नेताहरूको टोली घटनास्थलमा पुग्यो । तत्काल केही खानेकुरा दिएर बासको लागि जस्ता पाताको व्यवस्था गर्ने प्रतिबद्धता जनाएर उहाँहरू फर्कनु भयो ।एमालेले पहल गर्‍यो ।

एमाले वाग्मती प्रदेश सदस्य रत्नप्रसाद गौतमले उदार मन देखाउनुभयो । उहाँले पीडितलाई राहत सामाग्री उपलब्ध गराउन आवश्यक सहयोग गर्नु भयो ।दुवै संयोग जुटेपछि एमालेले खरानी भएको बस्तीमा खुसी लिएर गयो । ६ लाख रुपैँया बराबरका सामाग्री एमालेले गाउँमा नै पुर्‍यायो । ती सामाग्रीको लागि आवश्यक सबै सहयोग गौतमले गर्नुभएको थियो ।सोमबार जस्तापाता, खाद्यान्न र ओढ्ने ओछ्याउनेले भरिएको ट्याक्टर सहित एमालेको टोली गाउँमा पुग्दा पीडाले फुङ उडेको पीडितको अनुहारमा केही खुसी देखिएको थियो । उहाँहरूमा केही आशा पलाएको थियो । राहत सामाग्रीमा प्रत्येक घर परिवारलाई तीन बण्डलको दरले पुग्ने गरी रङ्गिन जस्ता पाता थियो । त्यस्तै जस्ता पाता ठोक्ने काँटी पनि एक बोरा थियो ।

३३ बोरा चामल, सय केजी चिउरा, ६ बोरा दाल, ३३ लिटर खाने तेल, एक बोरा चिनी, दुई बोरा स्वायविन, २२ केजी नुन, चियापत्ति, लुगा धुने साबुन, नुहाउने साबुन लगायतका राहत सामाग्री पीडित परिवारलाई दामासहीले उपलब्ध गराइएको नेकपा एमाले मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरेले जानकारी दिनुभयो ।राहत वितरण कार्यक्रममा बोल्दै वाग्मती प्रदेश सभा सदस्य तथा एमाले प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेलले आफूले आगलागी भएकै दिन गरेको बाचा अनुसार तत्कालको लागि राहत सामाग्री पार्टीको तर्फबाट जुटाएर ल्याएको बताउनुभयो । उहाँले पीडितको आवासको लागि एकीकृत बस्ती वा जनता आवास कार्यक्रमको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।पीडित बस्तीमा पुग्नु भएका एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले आफूहरू पीडितको साथमा रहेको बताउनुभयो । उहाँले कुनै अप्ठेरो परेमा सम्पर्क गर्न आग्रह गर्दै हरेक अप्ठेरो फुकाउन पार्टीले सहयोग गर्ने बताउनुभयो ।

एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले राहत सहयोग राजनीति गर्न नभई पार्टी र पार्टी नेता रत्न गौतमले नितान्त मानवीय सहयोग गरेको बताउनुभयो । उहाँले निरन्तर सहयोग जुटाउन एमाले लाग्ने बताउनुभयो ।पीडित बस्तीमा एमाले वाग्मती प्रदेश सदस्य गोपाल श्रेष्ठ, रामेछापका उपसचिव प्रकाशकुमार कार्की, होतराज ढकाल, मन्थली नगर पार्टी अध्यक्ष रामबाबु घिमिरे, रामेछाप नगर पार्टी अध्यक्ष रोशन पाख्रिन, गोकुलगंगा गाउँ पार्टी अध्यक्ष दीपक कार्की लगायतका नेता कार्यकर्ता पनि पीडित परिवारलाई सान्त्वना दिन पुग्नु भएको थियो ।